काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटमा नर्दन मारियानामाथि शानदार जित निकाल्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ । प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोट अन्तर्गत समूह 'बी' को समूह विजेता बन्दै नेपालले दोस्रो चरणको यात्रा तय गरेको हो ।
फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा आइतबार भएको दोस्रो तथा अन्तिम खेलमा नेपालले नर्दन मारियानामाथि ६-० गोल अन्तरको शानदार जित निकालेको हो । नेपालले पहिलो खेलमा घरेलु तथा आयोजक प्यालेस्टाइनमाथि पनि ६–० गोल अन्तरकै फराकिलो जित निकालेको थियो ।
नेपालको फराकिलो जितमा दीपा शाही र सारा बज्राचार्यले समान दुई/दुई गोल गरिन् । सरस्वती हमाल र जेनिफर रानाले समान एक/एक गोल गरिन् । पहिलो हाफमा पाँच गोल तथा दोस्रो हाफमा एक गोल भएको थियो ।
खेलको पाँचौं मिनेटमा दिपाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् । सातौं मिनेटमा सराले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । खेलको १९ औं मिनेटमा दिपाले व्यक्तिगत दोस्रो गोल गर्दा नेपालको अग्रता तेब्बर बन्यो ।
खेलको ३० औं मिनेटमा सरस्वतीले गोल गर्दै नेपाललाई ४-० गोलको अग्रता दिलाईन् । ४५ औं मिनेटमा सराले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरेपछि नेपालले पहिलो हाफमै नर्दन मारियानामाथि ५–० को आरामदायी अग्रता लिन सफल भयो ।
त्यसपछि, इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा जेनिफरले गोल गर्दै नेपाललाई ६–० को शानदार जित दिलाइन् । जितसँगै समूह 'बी' को नेपाल २ खेलमा ६ अंक जोडेर अपराजित शीर्ष स्थानमा रहदै दोस्रो चरणमा पुगेको छ । पराजित नर्दन मारियाना अंक विहीन रहदै र प्यालेस्टाइन ३ अंक जोडेर पहिलो चरणबाट बाहिरिएको छ ।
दोस्रो चरणको छनोट जुन ३ देखि ११ सम्म हुनेछ । छनोटबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ । एएफसी यू–२० महिला एसियन कपमा सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुँदैछ । आयोजक उज्वेकिस्तानसहित २०१९ को विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया गरी चार टोली छनोट भइसकेका छन् ।