काठमाडौँ । नेपालले आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा युएईमाथि सानदार जित निकालेको छ । कीर्तिपुरस्थित टियु मैदानमा आइतबार सम्पन्न खेलमा घरेलु टोली नेपालले युएईमाथि १७७ रनको सानदार जित निकालेको हो ।
यो जित सँगै २ खेल अगाबै नेपालले आगमी चार वर्षको लागि एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायमै राखेको छ । विश्वकप लिग लिग टूको शीर्ष ३ मा रहने सम्भावना सकिएको युएईको एकदिवसीय अन्तराष्ट्रिय मान्यता समेत जोखिममा परेको छ । नेपालले लिग टूमा शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता प्राप्त गरेको हो ।
नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको युएईले २२ ओभर ५ बलमा अलआउट हुदै ७१ रन मात्र बनायो । युएईका लागि आयान खानले २९ रनको सर्वाधिक ठुलो ईनिङ खेल्दा असओन्था भाल्थापाले १४ रन तथा कार्तिक मैयप्पनले ११ बनाए । युएईका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालको जितमा स्पिनर ललितनारायण राजवंशीले ७.५ ओभरमा २ मेडनसहित २० रन खर्चेर सर्वाधिक ५ विकेट लिए । नेपालबाट पाँच विकेट लिने सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीपछि राजवंशी चौथो बलर बनेका छन् । सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सोमपाल कामी, गुलशन झा र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिएका थिए ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.२ ओभरमा २ सय ४८ रनमा अल आउट भएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रनको योगदान दिए । ११२ बल खेलेका उनले ९ चौका प्रहार गरे । रोहितले ओडिआई करिअरमा आठौं अर्धशतक प्रहार गरेका थिए ।
यस्तै, आरिफ शेखले ५२ बलमा ४३ रन जोड्दा, ३२ बल खेलेका गुल्शन झा ३ छक्का र १ चौकाको मद्दतमा ३७ रन जोडेर आउट भए । यसैगरी दिपेन्द्र सिंह ऐरीले १९ बलमा ३ चौका र २ छक्कासहित ३४ रन जोडे भने गरी भीम शार्कीले ३७ बलमा ४ चौकासहित २९ रनको योगदानी दिए ।
युएईका लागि आयन खानले १० ओभरमा ४७ रन खर्चेर २ विकेट लिए । रोहन मुस्तफाले ९ ओभरमा ६१ रन खर्चेर २ विकेट लिए । जवार फरिदले ३ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । जहुर खानले ८.२ ओभरमा १ मेडनसहित ३५ रन खर्चेर २ विकेट लिए । आर्यन लाक्रा र जुनैद सिद्दिकले एक एक विकेट लिएका थिए ।
सात देश सम्मिलित विश्वकप लिग टूमा नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । नेपालले बाँकी दुवै खेल जितेको खण्डमा सोझै विश्वकप छनोट खेल्न पाउनेछ । एक खेलमा पराजित भएमा भने नेपालले प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ ।
पराजित युएई भने ३४ खेलमा १४ खेलमा जित तथा १७ खेलमा हार व्यहोरेर ३१ अंक सहित छैटौं स्थानमा रहेको छ । नेपालले सोमबार पपुवा न्युगिनी र बिहीबार युएईसँग खेल्नेछ । पपुवा न्युगिनी ३४ खेलमा ५ मा जित र २८ मा हारसहित ११ अंक जोड्दै पुछारमा रहेको छ ।