काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले शानदार जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार नेपालले पपुवा न्यूगिनी(पीएनजी) माथि ५२ रनको शानदार जित निकालेको हो ।
नेपालले जितको लागि दिएको २ सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पीएनजीले ४७ ओभर १ बलमा अलआउट हुँदै २ सय ४५ रन मात्र बनाउन सक्यो । पिएनजीका लागि नर्मन भानुवाले ५५ बलमा ३ चौका ४ छक्कासहित सर्वाधिक ६० रनको अर्धशतकीय ईनिङ खेले ।
ओपनर टोनी उराले ४४ बलमा ९ चौका सहित ५० रनको अर्धशतकीय ईनिङ खेलेका थिए । कप्तान असद भाला ५३ बलमा २ चौका २ छक्कासहित ४२ रनमा आउट भए । ओपनर किप्लिन डोरिगा २६ रनमा रन आउट भएका थिए । राईली हेरुकेले २० रन बनाउँदा चाल्स अमिनीले १४ रन बनाएका थिए ।
नेपालका लागि स्पिनर सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ३७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ९.१ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले १० ओभरमा ६० रन खर्चेर १ विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बलमा अलआउट भएर २ सय ९७ रन बनाएको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको यो अहिलेसम्मकै उच्च स्कोर थियो । यसअघि कीर्तिपुरमै भएको खेलमा नामिबियाले दिएको २८७ रनको लक्ष्य भेट्टाउनु नै नेपालले एकदिवसीय क्रिकेटमा बनाएको उच्च स्कोर थियो ।
नेपालको लागि ओपनर आसिफ शेखले १ सय १० बलमा १२ चौका २ छक्कासहित १ सय १० रनको सानदार शतकीय इनिङ खेले । आसिफको यो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक हो । पीएनजविरुद्ध ९० रन बनाएसँगै आसिफले एकदिवसीय क्रिकेटमा एक हजार रन पनि पूरा गरे । आसिफ खेलको ‘प्लेयर अफ द म्याच’ भए ।
आसिफ शेख नेपालबाट एक हजार रन बनाउने दोस्रो ब्याटर बने । यसअघि नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले एकदिवसीय क्रिकेटमा एक हजार रन बनाएका थिए । अर्का ओपनर कुशल भुर्तेलले ४५ रन बनाए । आसिफ र कुशलबीच १ सय १० रनको साझेदारी भएको थियो ।
भीम सार्की ४४ रन बनाउँदा कप्तान रोहित पौडेलले ३० रन बनाए । आरिफ शेख १५ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले ११ रन बनाएका थिए । करण केसीले ८ रन बनाउँदा दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले ७/७ रन बनाए । सोमपाल कामी चार रनमा अविजित रहे ।
पीएनजीका लागि सेमो कमियाले ९.१ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए । राइली हेकुरेले १० ओभरमा ५० रन खर्चेर ३ विकेट लिएका थिए । एलेइ नाओले एक विकेट लिए ।
जितसँगै नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अंकका साथ पाँचौं स्थानमा रहेको छ । पराजित पपुवा न्युगिनी ३३ खेलमा ४ मा जित र २८ मा हारसहित ९ अंक जोड्दै पुछारमा रहेको छ । अव नेपालले आइतबार युएई, सोमवार पपुवा न्युगिनी र बिहीबार युएईसँग खेल्नेछ ।
नेपाल शीर्ष तीनमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल सोझै खेल्न बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ । नेपालले एक खेल हारेको खण्डमा क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । नेपालले ओडिआई मान्यता सोझै जोगाउन अव तीन मध्य एक खेल जित्नुपर्ने हुन्छ ।