काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले पपुवा न्युगिनी(पीएनजी) लाई २ सय ९८ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहिवार टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ५ बल बाँकी रहँदा अलआउट हुँदै २ सय ९७ रनको योगफल तयार पार्यो ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि कीर्तिपुरमै भएको खेलमा नामिबियाले दिएको २८७ रनको लक्ष्य भेट्टाउनु नै नेपालले एकदिवसीय क्रिकेटमा बनाएको उच्च स्कोर थियो ।
नेपालको लागि ओपनर आसिफ शेखले १ सय १० बलमा १२ चौका २ छक्कासहित १ सय १० रनको सानदार शतकीय इनिङ खेले । आसिफको यो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक हो । पीएनजविरुद्ध ९० रन बनाएसँगै आसिफले एकदिवसीय क्रिकेटमा एक हजार रन पनि पूरा गरे ।
आसिफ शेख नेपालबाट एक हजार रन बनाउने दोस्रो ब्याटर बने । यसअघि नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले एकदिवसीय क्रिकेटमा एक हजार रन बनाएका थिए । अर्का ओपनर कुशल भुर्तेलले ४५ रन बनाए । आसिफ र कुशलबीच १ सय १० रनको साझेदारी भएको थियो ।
भीम सार्की ४४ रन बनाउँदा कप्तान रोहित पौडेलले ३० रन बनाए । आरिफ शेख १५ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले ११ रन बनाएका थिए । करण केसीले ८ रन बनाउँदा दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले ७/७ रन बनाए । सोमपाल कामी चार रनमा अविजित रहे ।
पीएनजीका लागि सेमो कमियाले ९.१ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए । राइली हेकुरेले १० ओभरमा ५० रन खर्चेर ३ विकेट लिएका थिए । एलेइ नाओले एक विकेट लिए ।
शृंखलामा नेपाल, पीएनजी र युनाइटेड अरब इमिरेट्स (यूएई) सहभागी छन् । लिग–२ को शीर्ष तीनमा रहन नेपाललाई शृंखलाका चारै खेल जित्नैपर्ने दबाब छ । सात देश सम्मिलित विश्वकप लिग टूमा नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौं स्थानमा छ । पीएनजी ३२ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।