काठमाडौं । एएफसी यू–२० महिला एसियन कप–२०२४ को छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले प्यालेस्टाइनमाथि सानदार जित निकालेको छ । फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा बुधबार भएको खेलमा नेपालले घरेलु टिम प्यालेस्टाइनलाई ६-० गोल अन्तरले हराएको हो ।
नेपालको जितमा दीपा शाहीले चार गोल गरिन् । यस्तै, गरिमा राईले दुई गोल गरिन् । खेलको २१ औं मिनेटमा दिपाले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् । २९ औँ मिनेटमा गरिमाले नेपालको अग्रता दोब्बर पारिन् ।
पहिलो हाफमा दुई गोल गरेको नेपालले दोस्रो हाफमा घरेलु टिममाथि चार गोल थप्यो । खेलको ६७ औँ मिनेटमा दीपाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३–० को अग्रतामा राखिन् । ७५ औँ मिनेटमा दीपाले ह्याट्रिक गर्दै नेपालको अग्रतालाई ४–० मा पुर्याइन् ।
खेलको ८२ औँ मिनेटमा गरिमाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रतालाई ५–० मा पुर्याइन् । त्यसपछि, खेलको ८५ औं मिनेटमा दीपाले चौथो गोल थप्दै ६-० को सानदार जित पक्का गरिन् ।
जितसँगै नेपालले पहिलो खेलमै ३ अंक जोडेको छ । समूह ‘बी’ मा रहेको नेपालको समूहमा प्यालेस्टाइन र नर्थन मरियाना आइसल्यान्ड छन् । यसअघि यही समूहमा रहेको युनाइटेड अरब इमिरेट्स (यूएई)ले आफ्नो नाम फिर्ता लिएकाले थियो । नेपालले अब आइतबार नर्थन मारियाना आइसल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
छनोटबाट समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छन् । दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ । उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यू-२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।