काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली यूएईमाथि सानदार जित हात पारेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा सोमवार भएको खेलमा नेपाल ४२ रनले विजयी भएको हो । जितसँगै नेपालले बाँकी सबै खेल जिते शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न पाउँछ ।
यो जितसँगै नेपालले युएईलाई पछि पार्दै लिग-२ को पाँचौं स्थानमा उक्लिएको छ । अव नेपालले शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता प्राप्त गर्न चार मध्य दुई खेलमा जित निकाले पर्याप्त हुनेछ ।
नेपालले जितको लागि दिएको २ सय ३० रनको विजयी लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो । युएईका लागि ओपनर आसिफ खानले १ सय १५ बलमा २ चौका ३ छक्कासहित सर्वाधिक ८२ रन बनाएपनि घरेलु टोलीको हार भने टार्न सकेनन् ।
त्यस्तै, आर्यन लाक्राले ७८ बलमा चार चौका र एक छक्काको मद्दतमा ५० रनको अर्धशतकीय पारी खेले । वृत्य अरविन्द १३ रनमा आउट भए । बाँकी ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ८ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ७ ओभरमा १ मेडनसहित २६ रन खर्चेर ३ विकेट लिए । करण केसी, आरिफ शेख र सन्दीप लामिछानेले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो । नेपालका लागि पाँचौं नम्बरका ब्याटर भीम सार्कीले ९९ बलमा ७ चौकासहित सर्वाधिक ७० रनको योगदान दिएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भीमको यो पहिलो अर्धशतक हो ।
भीमको यो अन्तर्राष्ट्रिय करिअरको उच्च प्रदर्शन थियो । भीम खेलको ‘प्लेयर अफ द म्याच’ भए । आरिफ शेखले ५६ बलमा २ चौका १ छक्कासहित अविजित ४३ रन बनाउँदा कुशल मल्ल ३२ बलमा ४ चौका २ छक्कासहित ३२ रनमा आउट भएका थिए ।
सन्दीप लामिछानेले ४० बलमा १ चौकासहित २७ रन बनाउँदा करण केसीले ११ बलमा १ चौका र १ छक्कासहित १७ रन, ज्ञानेन्द्र मल्लले ११ रन बनाएका थिए । प्रतिश जि.सी ६ बलमा १ चौकासहित ११ रनमा अविजित रहे ।
युएईका जुनैद सिद्दिकले १० ओभरमा १ मेडनसहित ५३ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । रोहन मुस्तफाले ९ ओभरमा १ मेडनसहित ४३ रन खर्चेर २ विकेट लिएका थिए । अर्यान लर्कानले ८ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । कार्तिक मयाप्पनले १ विकेट लिएका थिए ।
जितसँगै नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित पाँचौं स्थानमा उक्लिएको छ । पराजित युएई ३२ खेलमा १४ मा जित र १५ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा झरेको छ । पीएनजी ३२ खेलमा ४ मा जित र २७ मा हारसहित ९ अंक जोड्दै पुछारमा रहेको छ ।
२०१९ देखि जारी रहेको विश्वकप लिग-२ को सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो । अव लिग-२ को अन्तिम सिरिज नेपालमा बिहीबार देखि सुरु हुनेछ । नेपाल, पपुवा न्युगिनी र युएईबीच टियुमा त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ ।