काठमाडौं । यूएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । सोमबार दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो । खेल नेपाली समय अनुसार मध्याहन्न ११:४५ मा सुरु हुनेछ ।
यस सिरिजमा दुवै टोलीको दोस्रो पटक आमने सामने हुँदैछन् । पहिलो खेलमा नेपाल घरेलु टोली यूएईसँग ६८ रनले पराजित भएको थियो । तथापि, जारी शृंखलामा नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध भने दुवै खेल जितेको थियो । नेपालले पीएनजीलाई पहिलो खेलमा चार विकेट र दोस्रो खेलमा तीन विकेटले हराएको थियो । यूएई भने पीएनजीविरुद्धको दुवै खेलमा पराजित भएको थियो ।
सिरिजमा यूएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौँ स्थानमा रहेको छ । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका साथ छैटौँ स्थानमा रहेको छ । पीएनजी ३२ खेलमा ४ मा जित र २७ मा हारसहित ९ अंक जोड्दै पुछारमा रहेको छ ।
यूएईविरुद्ध नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । नेपालका ओपनर कुशल भुर्तेल ग्रोईन इन्जुरीका कारण आजको खेलमा समाबेश गरिएको छैन । उनको स्थानमा तीव्र गतिका बलर प्रतिश जी.सीलाई मौका दिईएको छ । प्रतिशले पहिलो खेलमा पीएनजीविरुद्ध नेपालको लागि डेब्यू गरेका थिए । उनले उक्त खेलमा ६ ओभरमा ३७ रन खर्चेर १ विकेट लिएका थिए ।
सोमबारको पराजयको बदला लिंदै नेपाल अंक तालिकामा युएईलाई उछिन्न चाहन्छ । शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्ने आशा कायमै राख्न नेपालले घरेलु टोली युएईलाई हराउनै पर्ने हुन्छ । नेपालाई शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता बचाउन तीन खेल जित्नुपर्ने हुन्छ । यी ३ वटा टोलीले काठमाडौंमा हुने अर्को एउटा श्रृंखलामा ४/४ वटा खेल खेल्न बाँकी रहेकाे छ ।
नेपालको प्लेईङ-११ :
आसिफ शेख (विकेट किपर), ज्ञानेन्द्र मल्ल, भिम सार्की, दीपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल (कप्तान), आरिफ शेख, प्रतिश जी.सी, कुशल मल्ल, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने ।