काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज सोमबार नेपालले आयोजक यूएईविरुद्ध खेल्दैछ । शृंखलाको अन्तिम खेल नेपाली समय अनुसार मध्याहन्न ११:४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
पहिलो खेलमा नेपाल घरेलु टोली यूएईसँग ६८ रनले पराजित भएको थियो । तथापि, जारी शृंखलामा नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध भने दुवै खेल जितेको थियो । नेपालले पीएनजीलाई पहिलो खेलमा चार विकेट र दोस्रो खेलमा तीन विकेटले हराएको थियो । यूएई भने पीएनजीविरुद्धको दुवै खेलमा पराजित भएको थियो ।
सिरिजमा यूएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौँ स्थानमा रहेको छ । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका साथ छैटौँ स्थानमा रहेको छ । पीएनजी ३२ खेलमा ४ मा जित र २७ मा हारसहित ९ अंक जोड्दै पुछारमा रहेको छ ।
यूएईविरुद्ध नेपालको प्लेइङ–११ मा एक खेलाडी परिवर्तनको सम्भावना छ । आज कुशल भुर्तेलको स्थानमा सन्दीप जोराले मौका पाउन सक्छन् । बायाँ खुट्टाको ग्रोइन समस्या पुनः बल्झिएपछि भुर्तेल आजको खेलमा उपलब्ध छैनन् । कुशलको अनुपस्थितिमा आसिफ शेख र ज्ञानेन्द्र मल्लले ओपनिङ गर्ने सम्भावना रहेको छ ।
सोमबारको पराजयको बदला लिंदै नेपाल अंक तालिकामा युएईलाई उछिन्न चाहन्छ । शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्ने आशा कायमै राख्न नेपालले घरेलु टोली युएईलाई हराउनै पर्ने हुन्छ । नेपालाई शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता बचाउन तीन खेल जित्नुपर्ने हुन्छ । यी ३ वटा टोलीले काठमाडौंमा हुने अर्को एउटा श्रृंखलामा ४/४ वटा खेल खेल्न बाँकी रहेकाे छ ।
नेपालको सम्भावित प्लेइङ–११:
आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल (कप्तान), सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी र करण केसी ।