काठमाडौँ । यूएईमा जारी आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीविरुद्ध रोमाञ्चक जित निकालेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा शुक्रवार भएको खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)लाई तीन विकेटले पराजित गरेको हो । जितसँगै नेपालको सोझै ओडिआई मान्यता प्राप्त गर्ने सम्भावना बढेको छ ।
नेपालको जितमा ओपनर आसिफ शेख र सन्दीप लामिछानेको कीर्तिमानी साझेदारी गरेका थिए । आसिफ र सन्दीपले आठौं विकेटका लागि ७७ रनको अविजित साझेदारी गरेका थिए । आठौं विकेटका लागि ७७ रनको साझेदारी नेपालको अहिलेसम्मको धेरै हो ।
पीएनजीले जितका लागि दिएको १ सय ८० रनको मध्यम लक्ष्य नेपालले ४८ ओभर ७ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर आसिफ शेखले १ सय ३० बलमा २ चौका र १ छक्का सहित अविजित ८६ रन बनाए । आसिफ खेलको ‘प्लेयर अफ द म्याच’ भए । स्पिनर सन्दीप लामिछाने ५० बलमा ३ चौकासहित ३५ रनमा अविजित रहेका थिए ।
कुशल मल्ल २६ बलमा २ चौकासहित २३ रन जोड्दा नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । पहिलो बलमा नै ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले भिम सार्की र दीपेन्द्रसिंह ऐरी समान ८/८ रनमा, ज्ञानेन्द्र मल्ल ६ रनमा, कप्तान रोहित पौडेल र आरिफ शेखलाई समान १/१ रनमा आउट भएका थिए ।
पपुवा न्युगिनीका लागि कप्तान असाद भालाले १० ओभरमा २ मेडनसहित २१ रन खर्चेर ३ विकेट लिए। सेमो कमियाले १० ओभरमा १ मेडनसहित ३७ रन खर्चेर २ विकेट लिए । सेसे बाउको नाममा २ विकेट रह्यो ।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ४९ ओभर २ बलमा अलआउट हुदै १ सय ७९ बनाएको थियो । पीएनजीका लागि ओपनर टोनी उराले ५१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३९ रन बनाए ।
यस्तै, किप्लिन डोरिगाले ४३ बलमा २६ रन जोड्दा हिरी हिरीले ६३ बलमा ३१ रन जोडेका थिए । यसैगरी गाउडी टोकाले ४३ बलमा १५ रन जोड्दा सेसे बाउ ११ रनमा रनआउट भए । कप्तान अशाद भाला ११ रनमै पेभिलियन फर्किएका थिए ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले १० ओभरमा ३० रन खर्चिएर २ विकेट लिए । सोमपाल कामीले १० ओभरमा ३९ रन खर्चिएर २ विकेट लिए । कुशल मल्लले १० ओभरमा ३१ रन खर्चिएर १ विकेट लिएका थिए । करण केसीले ८ ओभरमा ३१ रन खर्चिएर १ विकेट लिए । सन्दीप लामिछाने ९ दशमलब २ ओभरमा ३१ रन खर्चिएर १ विकेट लिएका थिए ।
जितसँगै नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका साथ छैटौं स्थानमा रहेको छ । पराजित पपुवा न्युगिनी ३१ खेलमा ३ मा जित र २७ मा हारसहित ७ अंक जोड्दै पुछारमा रहेको छ ।
२०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज समेत रहेको छ । नेपालले अव सोमबार घरेलु टोली युएईसँग खेल्नेछ । त्यसपछि घरेलु मैदान टियुमा अन्तिम चार खेल खेल्नेछ । नेपाललाई शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता जोगाउन अव ५ मध्य तीन खेल जित्नुपर्ने हुन्छ । सबै खेल जित्न सके नेपाल शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न पाउनेछ ।