काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल घरेलु टोली यूएईसँग पराजित भएको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बिहिवार भएको खेलमा यूएईसँग ६८ रनले पराजित भएसँगै नेपालको लगातार पाँच खेलसम्मको विजयी यात्रामा पनि ब्रेक लागेको छ ।
यूएईसँग पराजित भएपछि लिग टू को शीर्ष तीनमा रहेर विश्वकप छनोटमा पुग्ने नेपालको सम्भावना कठिन बनेको छ । अब नेपालले शीर्ष तीनमा पर्न बाँकी रहेको ६ वटै खेल जित्नु पर्नेछ । तर, शीर्ष पाँचभित्र रहेर नेपालले एकदिवशीय मान्यता कायमै राख्न भने चार खेल जितेमात्र पनि सम्भव छ ।
यूएईले जितको लागि दिएको २ सय ८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ३१.५ ओभरमा १३९ रनमै अलआउट भयो । नेपालका लागि कुशल मल्लले ५३ बलमा ६० रनको अर्धशतकीय ईनिङ खेले । सन्दीप लामिछाने २६ रनमा अविजित रहँदा आसिफ शेखले १७ रन बनाए । नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ओपनर कुशल भुर्तेलले पाँच रन बनाउँदा कप्तान रोहितकुमार पौडेल, पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र आरिफ शेखले रनको खाता खोल्न सकेनन् । दीपेन्द्रसिंह ऐरीले ७ रन बनाउँदा सोमपाल कामी र गुल्सन झाले समान ४/४ रन बनाए । करण केसी ५ रनमा आउट भएका थिए ।
यूएईका लागि अलराउण्डर रोहन मुस्ताफाले १० ओभरमा २ मेडन राख्दै ३१ रन खर्चेर ३ विकेट लिएका थिए । यस्तै, अर्का स्पीनर कार्तिक मेइयाप्पन ८.५ ओभरमा १ मेडन राख्दै २६ रन खर्चेर ३ विकेट लिए । फास्ट बलर जुनैद सिद्दिकीले २ तथा सबिर अली र जहुर खानले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७ रन बनाएको थियो । युएईको लागि ओपनर आसिफ खानले ९९ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ७२ रनको योगदान दिएका थिए ।
रोहन मुस्ताफले ७६ बलमा अविजित ५२ रनको अर्धशतकीय ईनिङ खेल्दा आर्यन लाक्राले २८ रन बनाए । कप्तान सीपी रिजवानले २२ तथा वृत्य अरबिन्द १८ रनमा आउट भएका थिए । ओपनर मुहम्मद वासिमलाई करण केसीले शुन्य रनमा पहिलो ओभरमा नै बोल्ड आउट गरेका थिए ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । करण केसी, आरिफ शेख र कुशल मल्लले समान १/१ विकेट लिएका थिए । अलराउण्डर दीपेन्द्र सिंह ऐरीले विकेट नलिए पनि १० ओभर बलिङ गर्दै १ मेडन राखेर ३५ रन मात्र खर्चिएका थिए ।
जितपछि युएई ३० खेलमा १४ मा जित र १३ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ । पराजित नेपाल ३० खेलमा १३ मा जित र १५ मा हारसहित २८ अंकका साथ छैटौं स्थानमा रहेको छ । अव नेपालले शुक्रबार पपुवा न्युगिनी र ६ मार्चमा युएईसँग खेल्नेछ । त्यसपछि, नेपालले घरेलु मैदानमा यी दुई टोलीसँग सिरिज खेल्नेछ ।