काठमाडौं । नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएईलाई हराउँदै विश्वकपमा पुगेको छ । अजमानको इडन ग्रार्डेन ओभलमा बिहिवार भएको निर्णायक खेलमा नेपालले घरेलु टोली यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै अर्को वर्ष श्रीलंकामा हुने विश्वकपका लागि छनोट भएको हो ।
जितसँगै नेपाल क्रिकेट संघ (क्यान)ले यू-१९ पुरुष क्रिकेट टोलीका खेलाडीलाई जनही १ लाख पुरस्कार दिने घोषणा गरेको छ । नेपालले सन् २०१६ यता पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो ।
नेपालले जितको लागि दिएको १९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनाउन सक्यो । युएईका लागि इथान काल्ल डी सोल्झाले ६६ बलमा ८ चौकासहित सर्वाधिक ५० रनको योगदान दिए । ओपनर अर्यान सक्सेनाले ६५ बलमा ५ चौकासहित ३४ रन बनाएका थिए । त्यस्तै, आर्यन शर्माले ३२ रन, अम्मर बदामीले १९ रन, ध्रुव पराशरले १७ रन र मारुफ १२ रनमा अविजित रहेका थिए ।
नेपालका लागि दिपेश कँडेलले शानदार बलिङ गरेका थिए । स्पिनर कँडेलले १० ओभरमा १ मेडनसहित ३१ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । सुवास भण्डारीले १० ओभरमा २ मेडनसहित ३९ रन खर्चेर २ विकेट लिए । त्यस्तै, हेमन्त धामीले ८ ओभरमा ३४ रन खर्चेर २ विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८.५ ओभरमा १ सय ९१ रनमा अल आउट भएको थियो । नेपालका लागि कप्तान देव खनालले ८४ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिएका थिए ।
त्यस्तै, विशाल विक्रम केसीले ३८ रन, उत्तम रंगु थापा मगरले ३६ रन, दिपेश कँडेलले १५ रन, हेमन्त धामीले १३ रन र मिलन बोहराले १० रन जोडेका थिए । नेपालका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर दीपक बोहोरा ईनिङको पहिलो बलमा नै आउट भएका थिए । अर्का ओपनर अर्जुन कुमाल तीन रनमा क्याच आउट भए । तेस्रो नम्बरका ब्याटर आकाश त्रिपाठी ९ रनमा बोल्ड आउट भएका थिए ।
युएईका लागि ध्रुव परासरले ६.५ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । कप्तान आयन खानले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिएका थिए । हरित हर्ष सिट्ठीले ८ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । अम्मर बदामी र हर्षित सेठले समान १/१ विकेट लिएका थिए ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन, दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रन, तेस्रो खेलमा हङकङलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई १० विकेटले हराएको थियो । सन् २००० देखि लगातार यू–१९ विश्वकप खेलेको नेपाल सन् २०१६ यता छनोट हुन संघर्षरत थियो । यो जितसँगै नेपालले ८ वर्षपछि २०२४ मा श्रीलंकामा आयोजना हुने यू-१९ पुरुष विश्वकपमा सहभागीता जनाउने भएको छ ।