काठमाडौं । यूएईएमा जारी आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोटअन्तर्गतको खेलमा नेपालले लगातार चौथो जित हात पारेको छ । मलेका क्रिकेट मैदानमा मगलवार भएको खेलमा मलेसियालाई १० विकेटले पराजित गर्दै नेपालले चौथो जित हात पारेको हो ।
मलेसियाले जितको लागि दिएको ७३ रनको झिनो लक्ष्य नेपालले आठौं ओभरको अन्तिम बलमा बिना कुनै विकेटको क्षतिमा पूरा गर्यो । जितसँगै शीर्ष स्थानमा उक्लिएको नेपालले बिहीबार घरेलु टोली युएईलाई पराजित गर्न सके २०२४ मा हुने यू१९ विश्वकप खेल्न पाउनेछ ।
नेपालको जितमा ओपनर दिपक बोहोरा २९ बलमा ८ चौकासहित सर्वाधिक ३८ रनमा अविजित रहँदा अर्का ओपनर अर्जुन कुमाल २५ बलमा ३ चौकासहित २१ रनमा अविजित रहेका थिए ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले ३५.३ ओभरमा ७२ रनमा अल आउट भएको थियो । मलेसियाका लागि शीर्षक्रमका ब्याटर मोहम्मद अकरम मलेकले ५१ बलमा ३ चौकासहित सर्वाधिक २६ रन बनाएका थिए ।
ओपनर मोहम्मद हर्सन २४ बलमा २ चौका प्रहार गर्दै १२ रनमा बोल्ड आउट भएका थिए । मूहम्मद हरिसानले १२ रन बनाउँनु बाहेक नेपालको सानदार बलिङ सामु मलेसियाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि दीपेश कंडेलले १० ओभरमा ४ मेडनसहित ५३ बल डट राख्दै ११ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए । आकाश चन्दले ४.३ ओभरमा २७ बल बलिङ गरेकोमा २० बल डट राख्दै ९ रन खर्चेर ३ विकेट लिए । मिलन बोहराले ९ ओभरमा ५४ बल बलिङ गरेकोमा ५ मेडनसहित ४८ बल डट राख्दै ८ रन खर्चेर २ विकेट लिए । सुवास भण्डारीले ९ ओभरमा ५४ बल बलिङ गरेकोमा ४० बल डट राख्दै ३२ रन खर्चिएर १ विकेट लिएका थिए ।
जितसँगै अपराजित नेपाल ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रहेको छ । युएई ३ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा रहेको छ । नेपाल र घरेलु टोली युएईबीच बिहीबार अन्तिम प्रतिस्पर्धा हुनेछ । उक्त खेलमा जित हात पारे नेपाल २०१६ पछि पहिलो पटक विश्वकपमा पुग्नेछ । प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ । सिंगल राउण्ड रोविनको खेलपछि शीर्ष स्थानमा रहने टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपमा छनोट हुनेछ ।