काठमाडौं । यूएईमा जारी आइसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । लगातार तेस्रो जित हात पार्ने क्रममा नेपालले सोमवार हङकङमाथि ९ विकेटको सानदार जित निकालेको हो ।
यूएईस्थिति मलेका क्रिकेट मैदानमा भएको खेलमा हङकङले जितको लागि दिएको १ सय २१ रनको लक्ष्य नेपालले २२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा ओपनर आकाश त्रिपाठी ७२ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६४ रनमा अविजित रहेका थिए ।
डेब्यू खेल खेलेका उत्तम थापामगर ५० बलमा ४ चौकासहित ३९ रनमा अविजित रहेका थिए । दोस्रो विकेटका लागि आकाश र उत्तमले ९८ रनको अविजित साझेदारीमा सानदार जित दर्ता गरेका थिए । ओपनर अर्जुन कुमाल भने १२ बलमा ३ चौकासहित १६ रनमा आउट भएका थिए । हङकङका लागि डानिएल मोर्गन मपले १ विकेट लिए ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको हङकङ ४६.३ ओभरमा १ सय २० रनमा अल आउट भएको थियो । हङकङका लागि पार्थ भागवतले ९३ बल खेल्दै ४ चौका प्रहार गरी सर्वाधिक ३६ रन बनाएका थिए । मोहम्मद अलियान जाहिर ६७ बलमा ३ चौकासहित २९ रनमा आउट भए । अहान त्रिवेदीले ११ रन बनाउँदा नेपालको सानदार बलिङ सामु हङकङका ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
हेमन्त धामीले ९ ओभरमा ३ मेडन राख्दै १९ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए । यस्तै किफायती बलिङ गरेका स्पिनर सुवास भण्डारीले १० ओभरमा ३ मेडन नै राख्दै जम्मा १० रन खर्चिएर २ विकेट लिए । आकाश चन्दले ८.३ ओभर बलिङ गर्दै ४३ रन खर्चेर २ विकेट लिए । अर्का स्पिनर दिपेश कंडेलले १० ओभर बलिङ गर्दै १७ रन खर्चेर १ विकेट लिए ।
सोमबार नै भएको अर्को खेलमा युएईले सिंगापुरलाई ८ विकेटले हराएर लगातार तेस्रो जित निकालेको छ । अपराजित नेपाल र युएईको ३ खेलबाट समान ६ अंक रहेको छ । यूएई नेट रनरेटका आधारमा शीर्ष स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेको सिंगापुरको तीन खेलबाट दुई अंक रहेको छ । चौथो स्थानको हङकङको पनि दुई अंक नै रहेको छ । पाँचौँ स्थानको मलेसिया र पुछारको कुवेतले समान दुई खेल खेल्दा खाता खोल्न सकेका छैनन् ।
प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ । नेपालले अब अर्को खेल मलेसियासँग मंगलबार खेल्नेछ । नेपाल र युएईबीच अन्तिम खेल बिहीबार हुनेछ । सिंगल राउण्ड रोविनको खेलपछि शीर्ष स्थानमा रहने छ टिम २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपमा छनोट हुनेछ ।