काठमाडौं । यूएईमा जारी आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले पपुवा न्युगिनीलाई हराउँदै लगातार पाँचौं जित निकालेको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सोमवार भएको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीमाथि ४ विकेटको जित निकालेको हो ।
नेपालले यो जितसँगै लिग–२ मा शतप्रतिशत जित यात्रालाई पाँच खेलसम्म पुर्याएको छ । यसअघि, घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियासहितको शृंखलामा नेपालले सबै चार खेल जितेको थियो ।
पपुवा न्युगिनीले जितको लागि दिएको २ सय ४ रनको मध्यम लक्ष्य नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले ६९ बल खेल्दै ५ चौकाको मद्दतमा सर्वाधिक ५६ रनको अर्धशतकीय ईनिङ खेले ।
अर्का ओपनर आसिफ शेख ३९ बलमा ५ चौकासहित ४४ रनमा कुशल भुर्तेलसँग तालमेल नमिल्दा रनआउट भएका थिए । पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ७६ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।
आरिफ शेखले ६२ बल खेल्दै १ चौकाको मद्दतमा ३३ रन जोडे का थिए । दीपेन्द्रसिंह ऐरीले २२ रन र कप्तान रोहितकुमार पौडेलले २० रन बनाए । कुशल मल्ल १४ बलमा १ चौकासहित १२ रनमा र सोमपाल कामी ५ रनमा अविजित रहे ।
पपुवा न्युगिनीका लागि कप्तान असाद भालाले १० ओभरमा ३७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । नर्मन भानुवा र सेसे बाउले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित ५० ओभर खेल्दै ९ विकेट गुमाएर २०३ रन बनाएको थियो । पपुवा न्युगिनीका कप्तान असद भाला र चाड सोपेरले समान ३६/३६ रन बनाएका थिए । सेसे बाउले ३१, किप्लिन डोरिगाले २९, नोर्मन भानुआले २५ र हिरी हिरीले १० रन जोडेका थिए ।
नेपालका लागि गुल्शन झाले ९ ओभरमा २८ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए । कुशल मल्लले ८ ओभर बलिङ गर्दै ४३ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी, करण केसी र एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गरेका प्रतिश जिसीले समान १/१ विकेट लिएका थिए ।
श्रृंखलामा नेपाल, घरेलु टिम यूएई र पपुवा न्युगिनी सहभागी छन् । नेपालले अब सिरिजको दोस्रो खेल मार्च २ मा घरेलु टोली यूएईसँग खेल्नेछ । मार्च ३ मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ मा घरेलु टोली यूएईसँग खेल्नेछ ।
जितसँगै नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकका साथ छैटौं स्थानमा रहेको छ । पराजित पपुवा न्युगिनी २९ खेलमा २ मा जित र २६ मा हारसहित ५ अंक जोड्दै पुछारमा रहेको छ । युएई २८ खेलमा १३ मा जित र १२ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा रहेको छ ।