काठमाडौं । यूएईमा जारी आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले कुवेतमाथि सानदार जित हात पारेको छ । मलिका क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले कुवेतमाथि २ सय ४३ रनको सानदार जित हात पारेको हो ।
नेपालले जितको लागि दिएको ३ सय ४४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको कुवेत ३०.५ ओभरमा १०० रनमा अलआउट भयो । कुवेतका लागि जुधा सालधानाले २६, रसिन मोहमदले १९ र किसोरी भाइ हिन्सु १६ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि आकाश चन्दले ९.५ ओभरमा ४३ रन खर्चेर ६ विकेट लिएका थिए । आकाश खेलको ‘प्लेयर अफ द म्याच’ भए । हेमन्त धामीले ६ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । स्पिनर दीपेश कँडेलले ८ ओभरमा १९ रन खर्चेर २ विकेट लिएका थिए ।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रन बनाएको थियो । नेपालका लागि विशाल योगफल पुर्याउन ओपनर अर्जुन कुमाल र कप्तान देव खनालले कीर्तिमानी शतक प्रहार गरेका थिए । अर्जुन १ सय १२ बलमा १२ चौकाको सहयोगमा १ सय ८ रन बनाउदै आउट भए । देवले १ सय १७ बलमा ९ चौका तथा ३ छक्काको सहयोगमा १ सय २५ रन बनाउदै आउट भएका थिए ।
नेपाली क्रिकेट इतिहासमा पहिलो पटक एकै इनिङमा दुई ब्याटरले शतक प्रहार गरेका हुन् । कप्तान देव खनाल र ओपनर अर्जुन कुमालले तेस्रो विकेटका लागि १ सय ७० रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफल तयार गरेका थिए ।
ओपनर दीपक बोहरा २७ बलमा २ चौकासहित १३ रनमा आउट भएका थिए । शुक्रबार सिंगापुरविरुद्ध भएको पहिलो खेलमा ७८ रन जोड्दै ‘प्लेयर अफ द म्याच’ चुनिएका ब्याटर आकाश त्रिपाठी २ रनमा रन आउट भएका थिए ।
विशाल विक्रमे केसी १४ बलमा ४ चौकासहित २३ रनमा रन आउट भए । दीपक बोहरा ९ बलमा ४ चौकासहित १९ रनमा आउट भएका थिए । दीपक डुम्रेले १६ बलमा १ चौकासहित २० रनमा अविजित रहेका थिए ।
कुवेतका लागि हेनरी थोमसले १० ओभरमा ६६ रन खर्चेर २ विकेट लिएका थिए । अर्श साहिल काज्मीले ९ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । हैबेर अली र जय महेशकुमार मेहताले समान १/१ विकेट लिएका थिए ।
दोस्रो जित हात पारेको नेपालको २ खेलमा ४ अंक रहेको छ । समान अंक रहेको यूएई भन्दा रन औसतमा पछि परेर नेपाल दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा नेपालले सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो । कुवेत भने पहिलो खेलमा हङकङसँग एक विकेटले पराजित भएको थियो ।
प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ । नेपालले तेस्रो खेल हङकङविरुद्ध सोमबार खेल्नेछ । यस्तै, चौथो खेलमा मंगलबार मलेसियाको सामना गर्ने नेपालले बिहीबार घरेलु टोली यूएईसॅंग अन्तिम खेल खेल्नेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका स्थान बनाउनेछ ।