काठमाडौं । यूएईमा जारी आइसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कुवेतलाई जितका लागि ३ सय ४४ रनको विशाल लक्ष्य दिएको छ । मलिका क्रिकेट मैदानमा शनिवार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रन बनाएको हो ।
नेपालका लागि विशाल योगफल पुर्याउन ओपनर अर्जुन कुमाल र कप्तान देव खनालले कीर्तिमानी शतक प्रहार गरेका थिए । अर्जुन १ सय १२ बलमा १२ चौकाको सहयोगमा १ सय ८ रन बनाउदै आउट भए । देवले १ सय १७ बलमा ९ चौका तथा ३ छक्काको सहयोगमा १ सय २५ रन बनाउदै आउट भएका थिए ।
नेपाली क्रिकेट इतिहासमा पहिलो पटक एकै इनिङमा दुई ब्याटरले शतक प्रहार गरेका हुन् । कप्तान देव खनाल र ओपनर अर्जुन कुमालले तेस्रो विकेटका लागि १ सय ७० रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफल तयार गरेका थिए ।
ओपनर दीपक बोहरा २७ बलमा २ चौकासहित १३ रनमा आउट भएका थिए । शुक्रबार सिंगापुरविरुद्ध भएको पहिलो खेलमा ७८ रन जोड्दै ‘प्लेयर अफ द म्याच’ चुनिएका ब्याटर आकाश त्रिपाठी २ रनमा रन आउट भएका थिए ।
विशाल विक्रमे केसी १४ बलमा ४ चौकासहित २३ रनमा रन आउट भए । विकेटकिपर दीपक डुम्रेले १६ बलमा १ चौकासहित २० रन बनाए । दीपक बोहरा ९ बलमा ४ चौकासहित १९ रनमा आउट भएका थिए ।
कुवेतका लागि हेनरी थोमसले १० ओभरमा ६६ रन खर्चेर २ विकेट लिएका थिए । अर्श साहिल काज्मीले ९ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । हैबेर अली र जय महेशकुमार मेहताले समान १/१ विकेट लिएका थिए ।
प्रतियोगितामा दोस्रो खेल खेलिरहेको नेपाल लगातार दोस्रो सानदार जित निकाल्ने योजनामा छ । पहिलो खेलमा नेपालले सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो । कुवेत भने पहिलो खेलमा हङकङसँग एक विकेटले पराजित भएको थियो ।
प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ । नेपालले तेस्रो खेल हङकङविरुद्ध सोमबार खेल्नेछ । यस्तै, चौथो खेलमा मंगलबार मलेसियाको सामना गर्ने नेपालले बिहीबार घरेलु टोली यूएईसॅंग अन्तिम खेल खेल्नेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका स्थान बनाउनेछ ।