काठमाडौं । यूएईमा जारी आइसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले सिंगापुरमाथि सानदार जित हात पार्दै विजयी सुरुवात गरेको छ । ईडन ग्राडेन ओभल अजमानमा शुक्रबार भएको पहिलो खेलमा नेपालले सिंगापुरमाथि ९६ रनको सानदार जित निकालेको हो ।
आकाश त्रिपाठी र विशालविक्रम केसीको अर्धशतकप्रेरित खेलमा नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ६१ रन बनाएको थियो । जितको लागि २६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको सिंगापुरले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर १६५ रनमात्र बनाउन सक्यो ।
सिंगापुरका लागि आर्यन मोदीले १ सय बलमा २ चौकासहित सर्वाधिक ५८ रनको योगदान दिएका थिए । सिद्धान्त श्रीकान्तले ८० बलमा १ चौका र १ छक्कासहित ४४ रन बनाएका थिए । अभुदय छाजेरले ४१ बलमा २ चौकासहित १४ रन बनाएका थिए । ओपनर अर्जुन नागपल ३५ बलमा २ चौकासहित १४ रनमा रन आउट भए ।
सिंगापुरका अन्य कुनैपनि ब्याटरले नेपाली बलर सामु राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका लागि स्पिनर सुवास भण्डारीले १० ओभरमा १ मेडनसहित २९ रन खर्चेर २ विकेट लिए । हेमन्त धामीले ८ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । विशाल विक्रम केसीले ५ ओभरमा १९ रन खर्चेर १ विकेट लिएका थिए ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङको रोजेको नेपालका लागि शीर्षक्रमका ब्याटर आकाश त्रिपाठीका साथै अर्का खेलाडी विशाल विक्रम केसीले अर्धशतक बनाएका थिए । त्रिपाठीले १०० बल खेल्दै ७ चौका र एक छक्काको मद्दतमा ७८ रन बनाएर आउट भए । आकाश त्रिपाठी खेलको ‘प्लेयर अफ द म्याच’ भए ।
त्यस्तै, विशाल विक्रम केसी ५४ बलमा ४ चौका र २ छक्कासहित ६३ रनमा अविजित रहेका थिए । ओपनर दीपक बोहरा ५ रन बनाउँदै क्याच आउट भए पनि अर्का ओपनर अर्जुन कुमाल ६७ बलमा ३ चौकासहित ३७ रन जोड्दै बोल्ड आउट हुन पुगेका थिए । कप्तान देव खनाल २१ रनमा आउट हुँदा दिपक बोहोराले १७ रन बनाएका थिए ।
दिपक प्रसाद डुम्रे १० रनमा रनआउट भए । सुवास भण्डारी १२ रनमा नटआउट रहेका थिए । सिंगापुरका लागि अर्यावीर चौधरी र अबुडे छाजेरले समान २/२ विकेट लिए । माहियु भाटिया र अदित्या भारगावाले समान १/१ विकेट लिएका थिए ।
आजै सम्पन्न अर्को खेलमा आयोजक यूएइले मलेसियालाई ७ विकेटले पराजित गरेको छ भने हङकङले कुवेतलाई एक विकेटले पराजित गरेको छ । प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।
अब नेपालले शनिबार कुवेतको सामना गर्दैछ । नेपालले हङकङविरुद्ध सोमबार तेस्रो खेल खेल्नेछ भने अर्को खेलमा मंगलबार मलेसियाको सामना गर्नेछ । नेपालले बिहीबार घरेलु टोली यूएईसँग खेल्नेछ । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू १९ विश्वकप खेल्न पाउनेछ ।