काठमाडौं । आईसीसी यु–१९ पुरुष विश्वकपको एशिया छनोट प्रतियोगितामा नेपालले आज शुक्रबार आफ्नो पहिलो खेल खेल्दैछ । युएईको इर्डेन गार्डेन्स आजमानमा नेपालले पहिलो खेलमा सिंगापुरको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार बिहान पौने ११ बजेबाट सुरू हुनेछ ।
लामो समयको अन्तरालमा विश्वकपमा छनोट हुने लक्ष्यका साथ युएई पुगेको नेपाली टोली पहिलो खेल जित्दै सुखद सुरुवात गर्ने योजनामा छ । प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेल्नेछ । देव नेपालका सर्वाधिक अनुभवी खेलाडी हुन् । टोलीको मुख्य प्रशिक्षकमा जगत टमटा रहेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई बुधवार बिदाई गरेको थियो । प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक युएईको सहभागिता रहेको छ । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ ।
नेपाली यू–१९ टोली :
देव खनाल (कप्तान), दीपेश कँडेल (उपकप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा (क), दीपक बोहरा (ख), उत्तम थापामगर (विकेटकिपर), दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।