काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा लिभरपुलमाथि रियल मड्रिडले सानदार पूनरागमन जित निकालेको छ । एनफिल्डमा मंगलबार राति भएको खेलमा रियलले घरेलु टोली लिभरपुलमाथि ५-२ गोल अन्तरको सानदार पूनरागमन जित दर्ता गरेको हो ।
स्पेनिस क्लब रियलको पूनरागमन जितमा भिनिसियस जुनियर र कप्तान करिम बेन्जेमाले समान २/२ गोल गरे । एडर मिलिसाओले एक गोल गरेका थिए । इंग्लिस क्लब लिभरपुलका डार्विन नुनेज र मोहम्मद सलाहको गोल सान्त्वना बन्यो ।
खेलको चौंथो मिनेटमा मोहम्मद सलाहको पासमा डार्विन नुनेजले गोल गर्दै घरेलु टोली लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए । १४ औं मिनेटमा मोहम्मद सलाहले गोलरक्षक थिवाउट कोर्टुवोको गल्तीको फाइदा उठाउँदै गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारेका थिए ।
तर, दुई गोलले पछि परेको रियलले खेलको २१ औं मिनेटमा कप्तान करिम बेन्जेमाको पासमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई २-१ को स्थितिमा ल्याए । जुनियरले ३१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-२ गोलको बराबरीमा ल्याएका थिए ।
खेलको ४७ औं मिनेटमा इडर मिलिसाओले गोल गरेपछि रियल ३-२ ले अघि रह्यो । मिलिसाओले मिडफिल्डर लुका मोड्रिचको फ्रिकिकलाई हेडरमार्फत गोल गर्न सफल भएका थिए । ५५ औं मिनेटमा रोड्रिगोको पासमा कप्तान बेन्जेमाले गोल गर्दै रियललाई ४–२ ले अघि बढाउँदै पूनरागमन जिततर्फ अग्रसर गराएका थिए ।
त्यसपछि, खेलको ६७ औं मिनेटमा कप्तान बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ५-२ गोल अन्तरको पूनरागमन जित दिलाएका थिए । यस जितसँगै रियल मड्रिडले लिभरपुलसँगको अपराजित यात्रा ७ खेलसम्म लम्ब्याएको छ । रियलले ६ जित र एक गोलरहित बराबरीको नतिजा निकालेको छ ।
जितसँगै कीर्तिमानी १४ पटकको विजेता रियल मड्रिडले क्वार्टरफाइनलको सम्भावना बलियो बनाएको छ । लिभरपुललाई भने दोस्रो लेगमा रियलमाथि फराकिलो जित आवश्यक भएको छ । लिभरपुलले अब दोस्रो लेग रियलको मैदानमा १६ मार्चमा खेल्नेछ ।
जर्मन क्लब फ्रान्कफर्ट नापोलीसँग पराजित
गएराति च्याम्पियन्स लिगको अर्को खेलमा इटालियन सिरी ‘ए’ को क्लब नापोलीले जर्मन क्लब इन्ट्राचट फ्रान्कफर्टलाई २–० ले हरायो । नापोलीको जितमा भिक्टर ओसिमहेन र जियोभानी डी लोरेन्जोले एक/एक गोल गरेका थिए ।
खेलको ४० औं मिनेटमा ओसिमहेनले गोल गर्दै नापोलीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५८ औं मिनेटमा राण्डल कोलोले रातो कार्ड पाएपछि फ्रान्कफर्ट १० खेलाडीमा समेटिएको थियो । त्यसपछि, ६५ औं मिनेटमा लोरेन्जोले गोल गर्दै नापोलीलाई २–० ले सहज जित दिलाए । अब दुई टोलीबीचको दोस्रो लेग नापोलीको मैदानमा मार्च १६ मा हुनेछ ।