काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा क्लिन स्विप सँगै इतिहास रचेको छ । मंगलबार कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले च्याम्पियन स्कटल्यान्डमाथि दुई विकेटको रोमान्चक जित हात पारेको हो । नेपालले पहिलोपटक लिग–२ सिरिजको चारवटै खेल जित्दै इतिहास रचेको हो ।
घरेलु टोली नेपालले नामिबियालाई २ विकेटले हराएर श्रृंखलाको सुरुवात गरेको थियो । दोस्रो खेलमा स्कटल्याण्डलाई तीन विकेटले हराउँदै नेपालले लय कायमै राख्यो । तेस्रो खेलमा नेपालले नामिबियालाई ३ विकेटले हराएको थियो ।
सिरिजको चौथो खेलमा च्याम्पियन स्कटल्याण्डले जितको लागि दिएको २ सय १३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेल र करण केसीले नवौँ विकेटका लागि कीर्तिमानी ७५ रनको साझेदारी गरेका थिए ।
नेपालले एकदिवसीय क्रिकेटमा नवौँ विकेटमा बनाएको अहिलेसम्मको उच्च साझेदारी हो । कप्तान रोहितकुमार पौडेल १ सय १ बलमा ७ चौका र ४ छक्कासहित ९५ रनमा अविजित रहे । रोहितको यो एकदिवसीय अन्तराष्ट्रियमा सातौं अर्धशतक हो । कप्तान रोहितकुमार पौडेल खेलको ‘प्लेयर अफ द म्याच’ भए ।
करण केसी ३७ बलमा २ चौका र १ छक्कासहित ३१ रनमा अविजित रहेका थिए । ज्ञानेन्द्र मल्लले २१ रन, कुशल मल्लले १७ रन र आसिफ शेखले १२ रनको योगदान गरे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा सन्दीप जोराले १ रन बनाएका थिए । दीपेन्द्र सिंह ऐरीले ७ तथा सोमपाल कामीले २ रन बनाएका थिए ।
स्कटल्यान्डका लागि मार्क वाटले तीन विकेट लिए । क्रिस ग्रेभेसले दुई विकेट लिँदा ब्रान्डन म्याकमुलम, माइकल लिएस्क र सफ्यान सरिफले समान एक/एक विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्ड ४६.१ ओभरमा २ सय १२ रनमा अल आउट भएको थियो । स्कटल्यान्डका लागि जर्ज मुन्सेले ५० बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ६० रन बनाएका थिए ।
त्यस्तै, म्याथ्यू क्रसले ४२ रन, ब्रान्डन म्याकमुलेनले ३१ रन, क्रिस्टोफर म्याकब्राइड र कायल कोट्जरले समान २२/२२ रन जोडेका थिए । स्कटल्यान्डका कप्तान रिची बेरिङ्टन ‘गोल्डेन डक’ र माइकल लिएस्क ‘डक’ भएका थिए ।
नेपालका लागि पूर्वकप्तान सन्दीप लामिछानेले १० ओभरमा ४५ रन दिएर महत्वपूर्ण ४ विकेट लिएका थिए । झण्डै ६ महिनापछि मैदान फर्किएका उनले यो सिरिजमा ४ खेलमा १३ विकेट लिए । करण केसीले तीन विकेट लिँदा कुशल मल्ल र ललित राजवंशीले समान एक/एक विकेट लिएका थिए ।
जितसँगै सिरिजमा नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा रहेको छ । पराजित च्याम्पियन स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै सिरिजको अन्त्य गर्यो ।
सिरिजमा ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा रहेको छ । नामिबिया ३४ खेलमा १८ मा जित र १५ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।
अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा रहेको छ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा रहेको छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा रहेको छ ।