काठमाडौं । नेपालमा जारी आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजको खेलमा नामिबिया जितविहीन बनेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा नामिबिया स्कटल्याण्डसँग ४३ रनले पराजित भएको हो ।
नामिबियाले नेपाल सिरिज चार खेलमा चार हारका साथ समाप्त गरेको छ । नामिबियाको चारै हारले नेपाललाई शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्ने सम्भावना बढेको छ । नामिबिया पहिलो खेलमा घरेलु टोली नेपालसँग, दोस्रो खेलमा स्कटल्याण्डसँग तथा तेस्रो खेलमा घरेलु टोलीसँग नै पराजित भएको थियो ।
जितको लागि स्कटल्याण्डले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको नामिबिया ३८.४ ओभरमा १ सय ७८ रनमा अल आउट भयो । नामिबियाका लागि ओपनर लोहार्ड लोहारेन्सले ६७ बलमा ६ चौकासहित सर्वाधिक ५२ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान ग्रेहार्ड इरास्मसले ३८ बलमा ४ चौका र २ छक्कासहित ४३ रन बनाएका थिए ।
जेन ग्रिनले ४० बलमा २५ रन बनाए । रुबेन ट्रम्पलम्यान र शन फुचेले समान १०/१० रन बनाएका थिए । स्कटल्याण्डका लागि मार्क वाटले ४ विकेट लिँदा, माइकल लिस्कले ३ तथा ब्रान्डन एमसीमुलेनले २ विकेट लिए भने क्रिस ग्रिभ्सको नाममा एक विकेट रह्यो ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४८.४ ओभरमा अलआउट हुदै २ सय २१ रनको योगफल खडा गरेको थियो । स्कटल्यान्डका लागि क्रिसटोपर म्याकब्राइडले ७५ बलमा ७ चौकासहित सर्वाधिक ४७ रन बनाएका थिए । टमस म्याकिन्टोसले ४८ बलमा ४ चौकासहित ३४ रन तथा कप्तान रिचि बेरिङ्टनले ५५ बलमा एक छक्का र एक चौकासहित ३२ रन बनाए ।
माईकल लिस्कले २६ बलमा १ चौका र २ छक्का सहित २९ रन बनाउँदा डेब्यू खेल खेलेका लियाम नेलर २१ बलमा ४ चौकासहित २० रनमा बोल्ड आउट भए । म्याथ्यु क्रसले १६ रन बनाएका थिए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । स्कटल्यान्डले पहिलो खेलमा नामिबियालाई १० विकेटले हराएको थियो ।
नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले ९.४ ओभरमा ३० रन खर्चेर ५ विकेट लिए । ओडिआईमा दोस्रो पटक पाँच विकेट लिएका ट्रम्पलम्यानको यो ओडिआई करिअरको उच्च प्रदर्शन हो । रुबेन ट्रम्पलम्यान ‘प्लेयर अफ द म्याच’ भए । अर्का तीव्र गतिका बलर टांगेनी लुगांमेनीले ९ ओभरमा ५८ रन खर्चेर २ विकेट लिएका थिए ।
जितसँगै ३५ खेलबाट २४ मा जित र ९ मा हारका साथ ५० अंक जोडेको स्कटल्यान्ड तालिकाको शीर्ष स्थानमा रहेको छ । पराजित नामिबिया ३४ खेलमा १८ मा जित र १५ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा रहेको छ । नामिबियाले अन्तिम दुई खेल युएईसँग खेल्नेछ ।
स्कटल्यान्डले अन्तिम खेल नेपालसँग मंगलबार खेल्नेछ । नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा रहेको छ । स्कटल्यान्डले तीन खेल खेल्न बाँकी रहँदै लिग टूको उपाधि जितिसकेको थियो ।
स्कटल्यान्डले च्याम्पियन ट्रफी मंगलबार नेपालमै पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले च्याम्पियन स्कटल्यान्डलाई मंगलबार नेपालमै ट्रफी दिने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । उक्त ट्रफी नेपालसँगको खेलपछि स्कटल्यान्डलाई प्रदान गर्नेछन् ।