काठमाडौं । फरवार्ड मार्कस राषफोर्ड चम्किदा इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीमाथि म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ । ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलमा युनाईटेडले लेस्टर सिटीलाई ३-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा युनाईटेडको जितमा फरवार्ड मार्कस राषफोर्डले दुई गोल गरे । जाडोन सान्चोले एक गोल थपेका थिए । खेलको २५ औं मिनेटमा ब्रुनो फर्नान्डेसको पासमा राषफोर्डको गोलबाट युनाइटेडले सुरुआती अग्रता लिन सफल भयो ।
खेलको ५६ औं मिनेटमा फ्रेडको पासमा राषफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई २-० गोलको अग्रता दिलाएका थिए । त्यसपछि, खेलको ६१ औं मिनेटमा ब्रुनो फर्नान्डेसको पासमा सान्चोले गोल गर्दै युनाईटेडलाई ३-० गोलको जित दिलाए ।
जितपछि म्यान्चेस्टर युनाइटेडले प्रिमियर लिगको शीर्ष ४ को पकडलाई थप बलियो पारेको छ । युनाइटेड २४ खेलबाट ४९ अंक जोडेर तेस्रो स्थानमा छ । समान खेलबाट ५२ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहेकाे छ । एक खेल कम खेलेको आर्सनल ५४ अंकसहित शीर्ष स्थानमा रहेकाे छ । पराजित लेस्टर भने २३ खेलबाट २४ अंकका साथ १४ औँ स्थानमा छ ।
वेष्ट ह्यामलाई पराजित गर्दै टोटन ह्याम हट्सपर शीर्ष चारमा
प्रिमियर लिगकै अर्को खेलमा आइतबार राति टोटन ह्याम हट्सपरले वेष्ट ह्याम युनाइटेडलाई २–० ले पराजित गरेकाे छ । टोटन ह्यामको मैदान लण्डन डर्बीमा घरेलु टोलीलाई विजयी गराउन एमर्सन रोयल र ह्युङ मिन सनले एक/एक गोल गरेका थिए ।
खेलको ५६ औं मिनेटमा बेन डेभिसको पासमा एमर्सनले गोल गर्दै टोटन ह्यामलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि, खेलको ७२ औं मिनेटमा ह्यारी केनको पासमा सनले गोल गर्दै घरेलु टोलीको जित पक्का गरे ।
यस जितसँगै २४ खेलबाट ४२ अंक जोडेको टोटन ह्याम अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । पराजित वेष्ट ह्याम २० अंक जोडेर १८ औं स्थानमा रहेको छ ।