काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी साउथह्याम्पटनसँग घरमै स्तब्ध भएको छ । स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा चेल्सी साउथह्याम्पटनसँग १-० गोल अन्तरले पराजित भएको हो ।
प्रशिक्षक ग्राहम पोटरको प्रशिक्षणमा ‘जनवरी ट्रान्सफर विन्डो’मा ठुलो रकम खर्च गरेको चेल्सीको खराब प्रदर्शनले निरन्तरता पाएको छ । साउथह्याम्पटनसँग यस हारसँगै चेल्सीले सबै खाले प्रतियोगितामा गरी पछिल्लो १४ मध्ये दुई खेलमा मात्र जित हासिल गरेको छ ।
पाहुना टोली साउथह्याम्पटनको जितमा जेम्स वार्ड प्राउसले पहिलो हाफमा अन्तिम समयमा गरेको गोल निर्णायक बन्यो । चेल्सीको घरेलु मैदानमा जेम्स वार्ड प्राउसले पहिलो हाफको इन्जुरी समयमा फ्रीकिकमा सिधै गोल गरेका थिए ।
यस जितसँगै साउथह्याम्पटनको रेलिगेशनबाट जोगिने आशा पलाएको छ । साउथह्याम्पटन २३ खेलमा १८ अंक जोडेर २० औं स्थानमा रहेको छ । हारपछि २३ खेलबाट ३१ अंक जोडेको चेल्सी दशौँ स्थानमा रहेको छ ।
म्यानचेस्टर सिटी नटिङहम फरेस्टसँग बराबरीमा
प्रिमियर लिगको अर्काे खेलमा सुरुवाती अग्रता लिनका बावजुत त्यसलाई जोगाउन नसक्दा म्यानचेस्टर सिटी नटिङहम फरेस्टसँग १–१ गोलको बराबरीमा रोकिएको छ । खेलको ४१ औं मिनेटमा ज्याक ग्रेलिसको पासमा बेर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ८४ औं मिनेटमा क्रिस उडले गोल गर्दै नटिङघमलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । यस बराबरीसँगै सिटीले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । सिटी २४ खेलमा ५२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको शीर्षस्थानको आर्सनलको ५४ अंक छ । नटिङहम फरेस्ट २५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।