काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियामाथि सानदार जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले नामिबियामाथि १५ बल बाँकी छँदै ३ विकेटको सानदार जित निकालेको हो ।
नेपालले लिग टुमा लगातार तेस्रो खेल जित्ने क्रममा आशिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारी र कुशल मल्लको विस्फोटक अर्धशतक र स्पिनर सन्दीप लामिछानेको ३ विकेटको मद्दतमा सानदार जित निकालेको हो ।
घरेलु मैदानमा जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आशिफ र ज्ञानेन्द्रले कीर्तिमानी १३९ रनको साझेदारी गरेका थिए । आसिफले ९८ बलमा ८ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ८१ रन बनाए । आशिफ शेख ‘प्लेयर अफ द म्याच’ भए ।
पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ७४ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६५ रन जोडे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ज्ञानेन्द्रको यो सातौँ अर्धशतक हो । कुशल मल्लले चौथो विकेटका लागि कप्तान रोहितकुमार पौडेलसँग ९२ रनको साझेदारी गर्दै ४९ बलमा ६ चौका र ४ छक्कासहित ६२ रन जोडेर क्याच आउट भए ।
कप्तान रोहितकुमार पौडेल ४३ बलमा ५ चौकासहित ३९ रनमा आउट भएका थिए । स्कटल्यान्डविरुद्ध अविजित ८५ रन बनाएका दीपेन्द्रसिंह ऐरी एक रनमा आउट भए । सन्दीप जोराले तीन रन बनाउँदा सोमपाल कामी आठ रनमा अविजित रहेका थिए ।
नामिबियाको लागि बलिङमा रुबेन ट्रम्पलम्यानले सर्वाधिक तीन विकेट लिए । बर्नाद स्कोल्जले दुई विकेट लिँदा, ताङगेनी लुङ्गामेनी र पिकी या फ्रान्सले समान एक/एक विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ६ विकेट गुमाएर २ रन ७४ रन बनाएको थियो । नामिबियाका लागि जान ग्रिनले ६३ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक ७५ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । ग्रिनको यो ओडिआई करिअरको उत्कृष्ट प्रदर्शन हो ।
पीकीं या फ्रान्स ३९ बलमा ४ चौका र ३ छक्कासहित ४९ रनमा रन आउट भएका थिए । लोहार्ड लौरेन्सले ४१ तथा माईकल भान २२ रनमा आउट हुँदा कार्ल ब्रिकस्टकले २० रन बनाए । कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५/१५ रन बनाएका थिए ।
नेपालका लागि स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चिएर ३ विकेट लिए । विश्वकप लिग टूमा २३ खेलबाट सन्दीप लामिछानेले ५० विकेट पूरा गरेका छन् । लिग टूमा ५० विकेट पूरा गर्ने उनी समग्रमा तेस्रो तथा नेपालका पहिलो खेलाडी हुन् । करण केसीले ९ ओभरमा ७४ रन खर्चेर १ विकेट लिए ।
जितसँगै सिरिजमा नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा रहेको छ । पराजित नामिबिया ३३ खेलमा १८ मा जित र १४ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा रहेको छ । स्कटल्यान्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।
सिरिज अन्तर्गत अब नेपालले अन्तिम खेल मंगलबार फागुन ९ मा स्कटल्याण्डसँग खेल्नेछ । शृंखलामा नेपाल, नामिबिया र स्कटल्यान्ड सहभागी छन् ।