काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिदेशीय ओडिआई सिरिजमा शीर्ष स्थानको स्कटल्यान्डमाथि सानदार जित हात पारेको छ । टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले लिग–२ को विजेता बनिसकेको स्कटल्याण्डलाई ३ ओभर बाँकी छँदै ३ विकेटले पराजित गरेको हो ।
खराब सुरुआत गरेको नेपालको जितमा दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले अर्धशतक प्रहार गरेपछि नेपालले २७५ रनको लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्काको मद्दतमा अविजित ८५ रन बनाएका थिए । दीपेन्द्र सिंह ऐरी ‘प्लेयर अफ द म्याच’ भए ।
यस्तै, कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्कामा ८१ रन बनाएका थिए । नेपालका लागि ओपनर कुशल भुर्तेलले ८ बलमा ४ चौकाको मद्दतमा १६ रन बनाएका थिए । अर्का ओपनर आसिफ शेखले १४ बलमा ९ रन बनाए । यस्तै, ज्ञानेन्द्र मल्ल ३ बलमा ४ रन बनाएर आउट हुँदा कप्तान रोहित पौडेलले १० बलमा ६ रन बनाउँदा सन्दीप जोराले ५ रन बनाएका थिए ।
घरेलु मैदानमा एक समय ७७–५ को अवस्थमा पुगेको नेपाललाई छैटौं विकेटका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले १ सय रनको शतकीय साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्याएका थिए । गुल्सन झाले १७ रन बनाउँदा सोमपाल कामीले ३२ बलमा ३ चौकाको मद्दतमा अविजित २४ रन बनाएका थिए ।
स्कटल्यान्डका लागि स्पिनर मार्क वाटले १० ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । क्रिस सोलले १० ओभरमा ७२ रन खर्चेर ३ विकेट लिए । यस्तै, माइकल लिस्कले १ विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनाएको थियो । स्कटल्याण्डका लागि सातौं नम्बरमा ब्याटिङ गरेका माईकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १ सय ७ रनको सानदार अविजित शतकीय इनिङ खेले । लिस्कको एकदिवसीय अन्तराष्ट्रियमा यो पहिलो शतक हो ।
नेपालविरुद्धको खेलबाट ओडीआईमा डेब्यु गरेका ज्याक जार्भिसले २६ तथा ओपनर क्रिस्टोफर म्याकब्राइड र ब्रान्डन म्याकमुलेनले समान २२/२२ रन बनाए । कप्तान रिची बेरिङटन र तोमस म्याकिन्सले समान १९/१९ रन बनाए । वाटले २० रन र क्रिस ग्रिभ्सले १६ रन जोडेका थिए ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । कुशल मल्लले ९ ओभरमा १ मेडन राख्दै ४९ रन खर्चेर २ विकेट लिएका थिए । सोमपाल कामीले ९ ओभरमा १ मेडन राख्दै ५२ रन खर्चेर १ विकेट लिए । कुशल भुर्तेलले ६ ओभरमा २२ र दीपेन्द्र सिंह ऐरीले ५ ओभरमा २५ रन खर्चेर समान १/१ विकेट लिए ।
जितसँगै सिरिजमा नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । पराजित स्कटल्याण्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा रहेको छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा रहेको छ । नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।
अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा रहेको छ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा रहेको छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा रहेको छ ।
सिरिज अन्तर्गत नेपालले भोलि (शनिबार) नामिबियासँग खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा खेल्नेछ । शृंखलामा नेपाल, नामिबिया र स्कटल्यान्ड सहभागी छन् ।