काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालमा जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा स्कटल्यान्डले सानदार जित निकालेको छ । टियु क्रिकेट मैदानमा बुधवार भएको खेलमा स्कटल्यान्डले नामिबियालाई १० विकेटले हराएको हो । स्कटल्यान्डको ओडिआई इतिहासमा १० विकेटको जित हात पहिलो पटक हो ।
जितको लागि १ सय ५४ रनको सामान्य लक्ष्य पछ्याएको स्कटल्यान्डले २२.१ ओभरमा कुनै विकेट नगुमाउँदै पूरा गर्यो । स्कटल्याण्डको जितमा ओपनर जर्जि मुन्सेले ६१ बलमा १२ चौका र ७ छक्काको सहयोगमा अविजित १ सय ३ रनको शतकीय ईनिङ खेले । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा मुन्सेको यो पहिलो शतक हो ।
यस्तै, अर्का ओपनर काइल कोट्जर ७२ बलमा ७ चौकासहित ४६ रनमा अविजित रहेका थिए । उनीहरुले १५७ रनको अविजित साझेदारी गर्दै स्कटल्यान्डलाई सानदार जित दीलाएका हुन् ।
यसअघि, टस हारेपछि ब्याटिङमा निम्त्याइएको नामिबियाले ३९.२ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको थियो । नामिबियाका लागि ओपनर ब्याटर लो हान्ड्रे लोरेन्सले सर्वाधिक ५४ रन बनाएका थिए । लोरेन्सले ८८ बल खेल्दै ५ चौका प्रहार गरे ।
बर्नार्ड स्कल्जले ३०, जान ग्रीनले २५ र पिकी या फ्रान्सले ११ रनको योगदान गरे । नामिबियाका अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । स्कटल्यान्डका लागि माइकल लिस्कले ८.२ ओभर बलिङ गर्दै ४ विकेट लिए । साफ्यान शारिफ र मार्क वाटले समान ३/३ विकेट लिएका थिए ।
यो जितसँगै स्कटल्याण्ड ७ देश सम्मिलित आइसीसी क्रिकेट विश्वकप लिग–२ को विजेता बनेको छ । स्कटल्यान्ड ३३ खेलमा २३ मा जित र ८ मा हारसहित ४८ अंकका साथ शीर्ष स्थानमा छ । सबै ३६ खेल खेलेको ओमान ४४ अंकसहित दोश्रो स्थानमा रहेको छ ।
नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ । नेपाल २५ खेलबाट २० अंक जोडेर तालिकाको छैटौँ स्थानमा रहेको छ । स्कटल्यान्डले अब शुक्रबार नेपालसँग खेल्नेछ ।