काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले नामिबियामाथि ऐतिहासिक जित हात पारेको छ । टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले नामिबियालाई २ विकेटले हराएको हो । नेपालले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो पटक नामिबियालाई हराएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले जितको लागि दिएको २८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले सफलतापूर्वक पूरा गरेको यो अहिलेसम्मकै सर्वाधिक ठूलो लक्ष्य हो ।
नेपाललाई ऐतिहासिक जित दिलाउन ओपनर कुशल भुर्तेलले ११५ रनको शतकीय ईनिङ खेलेका थिए । कुशलले ११३ बलमा १० चौका र ४ छक्का प्रहार गरे । कुशलले ९९ बलमा आफ्नो ओडिआई करिअरको पहिलो शतक पूरा गरेका थिए । कुशल भुर्तेल ‘प्लेयर अफ द म्याच’ भए ।
यस्तै, रोहित कुमार पौडेलले ७६ बलमा सात चौका र तीन छक्कासहित ७२ रन बनाए । नेपाली क्रिकेट टोलीका कप्तान पौडेल ओडिआई क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खलाडी बनेका छन् । रोहितले ओडिआईमा ३३ खेलमा १ हजार रन पूरा गरेका हुन् ।
नेपालका लागि सन्दीप जोराले २९, ज्ञानेन्द्र मल्लले २५, दीपेन्द्रसिंह ऐरीले सात र कुशल मल्ल ६ रन बनाउदा अर्का ओपनर आसिफ शेख भने डक आउट भए । करण केसी २० र सोमपाल कामी चार रनमा अविजित रहे । सन्दीप लामिछाने गोल्डेन डक भएका थिए ।
नामिबियाका रुबेन ट्रम्पेलम्यान र यान निकोल लोफ्टी इटोनले समान ३/३ विकेट लिए । यस्तै, बर्नार्ड स्कल्ज र टाङ्गेनी लुङ्गामेनीले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरको अन्तिम बलमा अलआउट हुँदै २ सय ८५ रन बनाएको थियो । नामिबियाका माइकल भान लिंगेनले १ सय ३७ बलमा ९ चौका र ५ छक्कासहित १ सय ३३ रनको सानदार शतक प्रहार गरे । माइकलले आफ्नो ओडिआई करिअरको तेस्रो शतक प्रहार गरेका हुन् ।
कप्तान जेरार्ड इरास्मस ७९ बलमा २ चौका र ३ छक्कासहित ५६ रनमा कुशल मल्लको बलमा सन्दीप लामिछानेको हातबाट क्याच आउट भए । यस्तै, सन्दीप लामिछानेले ११ औं ओभरको दोस्रो बलमा नामिबियाका कार्ल ब्रिकेनस्टोकलाई १३ रनमा बोल्ड आउट गरेका थिए । जान निकोल लोफ्टी ८ र ज्यान फ्रिलिंक १३ रनमा आउट भएका थिए । जेन ग्रिनले १९ बलमा ४ चौका र १ छक्कासहित ३४ रन बनाए ।
नेपालको तर्फबाट करण केसीले १० ओभरमा १ मेडन राख्दै ६१ रन खर्चेर ५ विकेट लिए । राष्ट्रिय क्रिकेट टिममा कमब्याक गरेका सन्दीप लामिछानेले १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिए । कुशल मल्ल, सोमपाल कामीले समान १/१ विकेट लिएका थिए ।
जितसँगै २५ खेलबाट २० अंक जोडेको नेपाल तालिकाको छैटौँ स्थानमा छ । यस्तै, ३१ खेलबाट ३७ अंक जोडेको नामिबिया तेस्रो स्थानमा छ । तालिकाको शीर्ष स्थानमा रहेको स्कटल्याण्डले ३२ खेलबाट ४६ अंक जोडेको छ । अव नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ । यस्तै, नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा खेल्नेछ । शृंखलामा नेपाल, नामिबिया र स्कटल्यान्ड सहभागी छन् ।