काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको च्याम्पियन बनेको छ । प्रिन्स अब्देल्लाह रंगाशाला शनिबार राति भएको फाइनल खेलमा साउदीको अल हिलाललाई ५-३ गोल अन्तरले हराउँदै रियल च्याम्पियन बनेको हो ।
रियलले कीर्तिमानी पाँचौं पटक क्लब विश्वकपको च्याम्पियन बनेको हो । सन् २०१४ मा पहिलोपटक च्याम्पियन बनेको रियलले त्यसपछि २०१६, २०१७ र २०१८ मा लगातार च्याम्पियन बनेको थियो ।
रियललाई जित दिलाउन भिनिसियस जुनियर र फेडेरिको भाल्भर्डेले समान दुई/दुई तथा कप्तान करिम बेन्जेमाले एक गोल थपेका थिए । साउदीको अल हिलालका लुसियानो डारियो भिट्टोले दुई तथा मोउसा मारेगाले एक गोल गरे ।
खेलको १३ औं मिनेटमा बेन्जेमाको पासमा भिनिसियस जुनियरले गोल गर्दै रियल मड्रिडलाई सुरुआती अग्रता दिलाएका थिए । १८ औं मिनेटमा फेडेरिको भाल्भर्डेले गोल गर्दै रियलको अग्रता दोब्बर बनाएका थिए । २६ औं मिनेटमा मौसा मारेगाले गोल गर्दै अल हिलाललाई २–१ को स्थितिमा ल्याए ।
यसैगरी, ५४ औं मिनेटमा जुनियरको पासमा बेन्जिमाले गोल गर्दै रियललाई ३–१ को अग्रता दिलाए । ५८ औं मिनेटमा फेडेरिकोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ४–१ को अग्रता दिलाए । ६३ औं मिनेटमा लुसियानो भिएटोले गोल गर्दा हिलाललाई ४–२ को स्थितिमा ल्याए । ६९ औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ५–२ को अग्रता दिलाए ।
त्यसपछि, खेलको ७९ औं मिनेटमा हिलालका भिएटोले व्यक्तिगत दोस्रो गोल गर्दै हिलाललाई ५–३ को स्थितिमा ल्याएका थिए । त्यसपछि, थप गोल हुन नसकेपछि रियलले कीर्तिमानी पाँचौं पटक क्लब विश्वकपको च्याम्पियन बनेको हो ।
रियल मड्रिडले सेमिफाइनलमा इजिप्टको अल अहलेलाई ४–१ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो । एसियाको अल हिलालले भने ब्राजिलको फ्लेमेन्गोलाई ३–२ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । ब्राजिलको फ्लेमेन्गोले अल अहलेलाई ४–२ ले हराउँदै तेस्रो स्थान हासिल गर्यो ।