काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल रंगाशालामा मंगलबार भएको खेलमा भारतलाई ३-१ गोल अन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
नेपालको जितमा अन्जली चन्द, कप्तान प्रिती राई र अमिषा कार्कीले एक/एक गोल गरिन् । भारतकी अपूर्ण नार्जारीले एक गोल गरिन् । नेपालले एक गोलले पछि परेको खेल उल्टाउँदै फाइनलको यात्रा तय गरेको हो ।
च्याम्पियनसिपको फाइनल प्रवेश गर्न आज नेपाल जित्नैपर्ने दबाबमा थियो । खेलको २० औं मिनेटमा अपूर्ण नार्जारीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन् । यसै गोलमा भारतले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो ।
तर, खेलको ४८ औं मिनेटमा अन्जली चन्दले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा फर्काएकी थिइन् । यस्तै, खेलको ६९ औं मिनेटमा प्राप्त पेनाल्टी सदुपयोग गर्दै कप्तान प्रिती राईले नेपाललाई २–१ को अग्रता दिलाइन् ।
त्यसपछि खेलको ८९ औं मिनेटमा अमिषा कार्कीले गोल गर्दै नेपाललाई ३-१ को जित दिलाईन् । जितसँगै नेपालले ३ खेलमा दुई जित र एक खेलमा हार बेहोरेर ६ अंक जोड्यो । नेपाल तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ । भारत र एक खेल कम खेलेको बंगलादेशको समान ४ अंक रहेको छ । अंकविहीन भुटान भने पुछारमा रहेको छ ।
च्याम्पियनसिपमा नेपाल, भारत, भुटान र आयोजक बंगलादेश गरी चार टिमको सहभागिता छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । नेपालले फाइनलमा भारत वा बंगलादेशसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ । आजै बंगलादेश र भुटानको खेलपछि फाइनलमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ ।