काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको क्याटलान क्लब बार्सिलोनाले सहज जित निकालेको छ । क्याम्प नोउमा आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियाविरुद्ध ३-० गोल अन्तरको सहज जित निकालेको हो । यस जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा आठ अंकको अग्रता बनाएको छ ।
घरेलु मैदानमा बार्सिलोनाको जितमा जोर्डी अल्बा, पाब्लो गाभी र राफिन्हाले एक/एक गोल गरेका थिए । विजेता बार्सिलोनालाई कप्तान सर्जियो बुस्केटको चोटले भने चिन्तित बनाएको छ । कुर्कुच्चामा चोट लागेपछि बुस्केटले खेलको आठ मिनेटमै मैदान छाडेका थिए ।
खेलको सुरुवातदेखि नै पाहुना टोली सेभियालाई दवावमा राखेको बार्सिलोनाले पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५८ औँ मिनेटमा जोर्डी अल्बाको गोलबाट सुरुआती अग्रता लिएको थियो । अल्बाले फ्रान्क केसिईको पासमा गोल गरेका थिए ।
खेलको ७० औँ मिनेटमा राफिन्हाको पासमा गाभीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए । त्यसपछि, खेलको ७९ औं मिनेटमा अल्वाको पासमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जित दिलाएका थिए ।
जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले २० खेलबाट ५३ अंक जोडेको छ । पराजित सेभिया २१ अंकका साथ १६ औँ स्थानमा रहेको छ । जुन रेलिगेशन क्षेत्रको काडिजभन्दा दुई अंकले माथि हो ।
रियल मलोर्कासँग रियल मड्रिडको अप्रत्यासित हार
स्पेसिनस लिगको अर्को खेलमा रियल मड्रिडले रियल मलोर्कासँग १–० को अप्रत्यासित हार बेहोरेपछि शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी छोट्याउने अवसर गुमाएको थियो । मालोर्काको जितमा रियल मड्रिडका नाचोले खेलको १३ औं मिनेटमा आत्मघाती गोल गरेका थिए । मालोर्काका बेदात मारिकीको हेडिङ प्रहार रियलका रक्षक नाचोलाई लागेर गोलमा परिणत भएको थियो ।
यस्तै, खेलको ६० औं मिनेटमा रियलका मार्को एसेन्सियो पेनाल्टीमा गोल गर्न चुकेका थिए । मालोर्काका गोलकिपर प्रेड्राग राजकोभिकले भिनिसियस जुनियरलाई लडाएपछि रियल मड्रिडले पेनाल्टी अवसर पाएको थियो । हारपछि २० खेलबाट ४५ अंक जोडेको रियल मड्रिड दोस्रो स्थानमा छ । विजयी रियल मालोर्का २८ अंकका साथ दशौँ स्थानमा छ ।
त्यसैगरी, स्पेसिनस लिगको अर्को खेलमा जिरोनाले भ्यालेन्सीयालाई १–० ले पराजित गर्दा रियल भालाडोलिडले रियल सासिडाडमाथि १–० काे जित निकालेकाे हाे । जितसँगै रियल सोसिडाड ३९ अंकसहित तेस्रो स्थानमा रहेको छ ।