काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो जित निकालेको छ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल रंगाशालामा आइतबार भएको खेलमा नेपालले भुटानविरुद्ध ४–० गोल अन्तरको सहज जित निकालेको हो ।
नेपाललाई जित दिलाउन अमिशा कार्कीले ह्याट्रिक र कप्तान प्रीति राईले एक गोल गरिन् । यस जितसँगै नेपालले साफ च्याम्पियनसिपको फाइनल खेल्ने सम्भावनालाई कायम राखेको छ ।
खेलको १९ औँ मिनेटमा अमिशाले गरेको गोलबाट नेपालले सुरुआती अग्रता बनाएको थियो । पहिलो हाफको इन्जुरी समयमा अमिषाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता २-० पारिन् ।
पहिलो हाफमा दुई गोल गरेको नेपालले दोस्रो हाफमा पनि दुई गोल नै थप्यो । खेलको ६१ औँ मिनेटमा कप्तान प्रीतिले गोल गर्दै नेपालको अग्रता ३–० मा पुर्याइन् । त्यसको अर्को मिनेटमा अमिशाले ह्याट्रिक गरेपछि नेपालले ४–० को सहज जित निकालेको हो ।
यसअघि, च्याम्पियनसिपको शुक्रबार भएको पहिलो खेलमा नेपाल घरेलु टिम बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । यस्तै, भुटान शुक्रबार नै भएको खेलमा भारतसँग १२–० ले पराजित भएको थियो । दोस्रो हारसँगै भुटानको भने फाइनल पुग्ने सम्भावना समाप्त भएको छ ।
च्याम्पियनसिपमा नेपाल, भारत, भुटान र आयोजक बंगलादेश गरी चार टिमको सहभागिता छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । अब नेपालले अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।