काठमाडौं । प्लस टू फाइभ के रनको उपाधि नेपाल पुलिस क्लबका नागेश्वर अहिर र श्री गंगा माबि, जुम्लाकी राममाया बुढाले जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार आयोजित प्रतियोगितामा नागेश्वरले पुरुष र राममायाले महिलातर्फको उपाधि जितेका हुन् ।
पुरुषतर्फको उपाधि जित्ने क्रममा नागेश्वरले ५ किमिको दूरी १५ मिनेट १५.१ सकेन्डमा पूरा गरे । पुलिसकै सन्तोषनाथ योगी १५ मिनेट २४.५ सेकेन्डको समय निकाल्दै दोस्रो भए । श्री रत्न चौडनेश्वर माबिका प्रकाश कठायत १५ मिनेट ३४.८ सेकेन्डको समय निकाल्दै तेस्रो भए ।
पुरुषतर्फ संजय नेपाली चौंथो, विश्वराम कुँवर पाँचौं र किरण लिम्बु छैटौं भए । मिङमार सिंगी तामाङ सातौं, अर्जुन राई आठौं, आशिष कुँवर नवौं र अभिराज राई दशौं स्थानमा रहे ।
महिलातर्फको उपाधि जित्ने क्रममा राममायाले १९ मिनेट १८.३ सेकेन्डमा दूरी पूरा गरिन् । एनआरएस स्पोर्ट्स फाउन्डेसनकी अन्जु खड्का १९ मिनेट ५८.८ सेकेन्डको समय निकाल्दै दोस्रो भईन् । ओहारा कार्कीले २० मिनेट १८.४ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गरिन् । यस्तै सरस्वती बोहरा, सोनु घतानी, अनुजा कार्की, सरिता रम्तेल, रेस्टिना सिटीखु, शेर्बी महर्जन र उर्जा मधिकर्मी क्रमशः चौथोदेखि दशौ स्थानमा रहे ।
दुवै विधाको विजेताले ट्रफी, मेडलसहित ५० हजार रुपैयाँ, दोस्रोले ३० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै चौथोले १० हजार, पाँचौले ५ हजार र छैटौदेखि दशौंसम्म स्थान हासिल गर्ने खेलाडीलाई जनही २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । सहभागी सबै खेलाडीलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
कखरा इभेन्टको आयोजना र एथलेटिक्स परिवार नेपालको संचालनमा भएको प्रतियोगिताका विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोइरालालगायतले पुरस्कृत गरेका थिए ।
उमेर समूहको एथलेटिक्सका खेलाडीलाई लक्षितगर्दै आयोजना गरिएको प्रतियोगितामा २ सय ५० खेलाडीले सहभागिता जनाएको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिए ।