काठमाडाैं, ११ असार – प्रथम राष्ट्रिय पारा खेलकुदअन्तर्गत राष्ट्रिय बोसिया प्रतियोगिताको बीसी १ समूहको महिलामा साधना घिमिरेले सोमबार स्वर्ण जितेकी छन्। निलम अधिकारी दोश्रो र सुशान्त गुरुङ तेश्रो भएका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय बोसिया संघको व्यवस्थापनमा भएको प्रतियोगिताको बीसी २ समूहको पुरुषमा मानबहादुर भुजेल पहिलो, पंकजप्रसाद गुप्ता दोश्रो र प्रकृति भट्टराई तेश्रो भएका हुन्।
बीसी ३ को पुरुषमा अंकित श्रेष्ठले स्वर्ण, सुशान्त दवाडीले रजत र लक्ष्मी मगरले कांस्य जिते। बीसी ४ को महिलामा सम्झना भट्टराई प्रथम, सीता ढकाल द्वितीय र सुकुमाया तामाङ तृतीय बनेका हुन्। बीसी ५ को पुरुषमा सन्तोष सन्जेल पहिलो, रुपेश लामिछाने दोश्रो र सफल तामाङले तेश्रो स्थान हात पारेका छन्।
जोडीतर्फको प्रतिस्पर्धामा सन्जु कँडेल र हुमकान्त कँडेल, कुमारी भुजुङ र डोल्का रोका तथा गंगामाया र प्रिता बलको जोडी क्रमशः शीर्ष तीन स्थानमा रहेका हुन्।
विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइरालालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका छन्।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको दुईदिने प्रतियोगितामा सात प्रदेशबाट ५० खेलाडीले विभिन्न ६ स्पर्धामा सहभागिता जनाएको बोसिया संघकी अध्यक्ष गोमादेवी पौडेलले जनाएकी छन्।