काठमाडौं, ९ असार - लन्डन र ब्राजिल पारा ओलम्पिकमा सहभागिता जनाएका विक्रमबहादुर रानाले प्रथम बृहत राष्ट्रिय पारा खेलकुदअन्तर्गत राष्ट्रिय पारा एथलेटिक्सको पूर्ण दृष्टिविहीनको पुरुषमा शनिबार दोहोरा स्वर्ण जितेका छन्।
विक्रम २ सय मिटर दौडमा पनि शीर्ष स्थानमा रहेका हुन्। प्रमोद दाहाल दोश्रो र रुपलाल चौधरी तेश्रो भएका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा पारा एथलेटिक्स संघको संयोजनमा भएको प्रतियोगिताको सोही स्पर्धाको महिलामा सनिता भट्टराईले स्वर्ण, सावित्री पौडेलले रजत र सरिता अर्यालले कांस्य जितेका छन्।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको प्रतियोगिताको बौद्धिक अपाङ्गको छात्र १२–१५ वर्ष ५० मिटर दौडमा डेविड परियार, १६ वर्षमाथि छात्रा सफ्टबल थ्रोमा निता श्रेष्ठ, १६–२१ वर्षको छात्र १ सय मिटर दौडमा अदित वज्राचार्य, आंशिक दृष्टिविहीनको छात्रा सटपुटमा गंगा भुजेल र शारीरिक अपाङ्गको छात्र ज्याभ्लिन थ्रोमा सविन थापाले पहिलो स्थान हात पारेका हुन्।
विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, राखेपका सदस्य देवकुमार अधिकारी (बद्री), ब्याडमिन्टनकी राष्ट्रिय खेलाडी सरादेवी तामाङलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरेका थिए।
एकदिने प्रतियोगितामा शारीरिक अपाङ्ग, बहिरा, दृष्टिविहीन र सुस्त मनस्थितितर्फ जम्मा ४२ स्पर्धामा ७ प्रदेशका २ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए।