काठमाडौं । भ्याली पब्लिक र एन्जल्स हार्ट पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार च्याम्पियन बनेका छन् । दोहोरो उपाधि जितेको भ्याली पब्लिक सिनियरतफर् ब्वाइज/गर्ल्स दबैमा पहिलो भए । एन्जल्स हार्टले जुनियर ब्वाइजको उपाधि चुम्यो ।
बसुन्धारा नेशनल एकेडेमी (बीएनए)द्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा भ्याली पब्लिकले एचएचसीएलाई ४५–२१ ले पराजित गर्यो । भ्याली पब्लिकको जितमा छिरिङ लामाले १८ अंक योगदान गरे । दिवस भुजेलको १६ अंक सहयोगमा ग्रिनल्यान्डले एन्जल्स हार्टलाई ४२–२६ ले हराउदै तेश्रो भयो ।
सिनियर गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई २१–९ ले पाखा लगायो । भ्याली पब्लिककी अनिता गुरुङले ९ स्कोर गरिन् । एचएचसीएले बीएनएलाई २०–६ ले पन्छ्याउदै तेश्रो बन्यो । भ्याली पब्लिककी सराह घलेले १४ अंक जोडिन् ।
जुनियर ब्वाइज फाइनलमा एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २३–१८ ले निराश पार्यो । एन्जल्स हार्टका प्रतिक कँडेलले ८ अंक जोडे । ग्रिनल्यान्डले स्काइलार्कलाई १६–१३ ले पराजित गर्दै तेश्रो स्थानमा रह्यो ।
ग्रिनल्यान्डका आयुश घलेले ९ अंक बटुले । सिनियर ब्वाइजमा भ्याली पब्लिकका सुनिल पौडेल‚ सिनियर गर्ल्समा भ्याली पब्लिककी अनिता गुरुङ र जुनियर ब्वाइजमा एन्जल्स हार्टका प्रतिक कँडेल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
सिनियर ब्वाइजमा बीएनएका सन्देश खड्का‚ सिनियर गर्ल्समा भ्याली पब्लिककी लोरिशा गौचन र जुनियर ब्वाइजमा इबीएका एलेक्स राई प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।
विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी‚ टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङ‚ केन्द्रीय प्याब्सनका उपाध्यक्ष थकिनकुमार गुरुङ‚ टोखा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतम‚ बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
जेठ २४ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा २०‚ जुनियर ब्वाइजमा १२ र सिनियर गर्ल्समा ८ टिम सहभागी थिए ।