काठमाडौं । कास्कीका बिधान अधिकारी र बिशाल खड्काको जोडीले हरिसिद्धि खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७८ को उपाधि उचालेका छन् । उक्त जोडीले प्रयागपोखरी ब्याडमिन्टन क्लबका पनिव लिनथेप र सुरोज महर्जनको जोडीलाई २१–१९, १९–२१ र २२–२० को सेटले पराजित गरेका हुन् ।
बिधान र बिशालको जोडीले पविन र सुरोजको जोडीलाई बाह्रबिसे कपमा पनि पराजित गर्दै उपाधि उचालेका थिए । बिजयी टिमले ५० हजार नगद मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । उपविजेता टिमले २५ हजारसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
तेस्रो स्थान प्राप्त गरेका बुटबलका बिश्वास नेपाल र गणेश रायमाझी तथा एपिएफका पेम्बा शेर्पा र चितवनका राजु थापाको जोडीले नगद १० हजार, मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।
हरिसिद्धिस्थित आयोजककै आफ्नै कभर्डहलमा भएको प्रतियोगिताको पुरुष यू–१९ तर्फको प्रतिस्पर्धामा सिक्सटिन फिदरका क्षितिज खनालले उपाधि जिते । उनले बालकुमारी रिमिक्स क्लबका आयुस्मान नागरीलाई २१–१२, २२–२० ले पराजित गर्दै उपाधि कब्जा गरेका हुन् ।
विजता खनालले नगद १५ हजारसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । उपविजेता नागरीले नगद १० हजार मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । त्यस्तै तृतीय स्थान प्राप्त गरेका सूर्यदर्शन ब्याडमिन्ट क्लबका सन्तोष पनेरु र क्लब सेभेनका डेभिड थापा मगरले नगद ५ हजारसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
त्यस्तै, महिला यू–१९ तर्फ योङ्गुबहालकी रोज पाण्डेले उपाधि जितिन् । उनले बालकुमारी रिमिक्स क्लबकी प्राथना देउबामाथी २१–१८, २१–१४ को सहज जित निकालिन् । विजेता पाण्डेले नगद १५ हजारसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरिन् । उपविजेता देउबाले नगद १० हजार मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरिन् । तृतीय स्थान प्राप्त गर्ने धादिङ्गकी बविता पुरी र भिन्छेबहालकी कृष्मा बज्राचार्यले नगद ५ हजारसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
चार दिनसम्म संचालन भएको भेट्रान युगलतर्फ पिएफसीका संजय कपाली र श्याम लामाको जोडी तथा कास्कीका दलराज आले र मनबहादुर रानाको जोडीबीच भएको प्रतिस्पर्धामा संजय र श्यामको जोडीले जित निकाले ।
उक्त जोडीले २१–१९, २१–१८ को जित हात पारेको हो । विजेता टोलीले नगद ३० हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । उपविजेता टिमले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
तृतीय स्थान प्राप्त गर्ने आईबिएससीका लक्ष्मण बि.सी. र दिलबहादुर कदङ्गवाको जोडी तथा कालिका क्लबका लोकेश्वर भक्ति र पुर्ण श्रेष्ठको जोडीको प्रत्येक टिमले ७ हजार ५ सय, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
१५ लाख अनुमानित लागत रहेको प्रयिोगितामा यू–१९ पुरुष तथा महिला एकल खुल्ला, पुरुष युगल र भेट्रान ४५ माथि चार विधामा प्रतिस्पर्धा भएको थियो । यू–१९ पुरुष एकलतर्फ ५० खेलाडी, महिला एकलतर्फ १३, पुरुष युगलमा ५५ जोडी र भेट्रान ४५ बर्ष माथी २१ जोडीले प्रतिस्पर्धा गरेका थिए ।
विजयी खेलाडीहरुलाई उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुषालले पुरस्कार वितरण गरेकी थिईन् ।