काठमाडौं, मंसिर ९ । नेपाली ब्याडमिन्टनको ईतिहासमा नयाँ आयामको थालनी भएको छ । काठमाण्डौ ब्याडमिन्टन एकेडेमीले ब्याडमिन्टन खेलको प्रर्वद्धन गर्ने लक्ष्य अनुरुप राष्ट्रिय खेलाडीहरुलाई कर्पोरेट हाउसहरुसंग जोड्दै नयाँ आयामको सुरुवात गरेको हो ।
एकेडेमीले पुष ६ देखि ९ गतेसम्म त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजना गर्ने कुमारी बैंक काठमाण्डौ टिम च्याम्पियनसिप २०२१ कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण)मा नेपाली ब्याडमिन्टन खेलाडीहरुलाई कर्पोरेट हाउसहरुसंग आवद्ध गर्दै ब्याडमिन्टन खेलको प्रवर्धनमा नयाँ आयामको थालनी गरेको हो । पत्रकारहरुबिच उच्च ८ बरियतामा रहेका पुरुष तथा महिला खेलाडीहरुलाई सार्वजनिक गर्दै आयोजक एकेडेमीले उक्त जानकारी गराएको हो ।
बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहेको कुमारी बैंकको प्रायोजन रहेको च्याम्पियनसिपमा ८ कर्पोरेट हाउसले बरियतामा रहेका एक पुरुष र एक महिला खेलाडीहरुलाई आफूसंग आवद्ध गर्ने छन् भने अन्य खेलाडी कम्तिमा २ बर्ष संस्थामा कार्यरत रहेका ब्यक्ति अथवा खेलाडी हुनु पर्ने छ । खेलाडीहरुलाई चिट्ठाको आधारमा कर्पोरेट हाउसमा आवद्ध गरिने समेत कार्यक्रममा जानकारी गराईयो ।
करिब ४९ लाख ४६ हजार लागत रहेको च्यामिपयनसिपमा खेलाडीहरुलाई दर्ता हुने वित्तिकै २० हजार प्रदान गरिनेछ । प्रत्येक खेलबापत थप २५ सय प्रदान गरिने छ । यसरी एक खेलाडीले समूह चरणबाटै बाहिरेता पनि ३५ हजार प्राप्त गर्ने आयोजक एकेडेमीका महासचिव, नेपाल ब्याडमिन्टन संघका सदस्य एवं अन्तर्राष्ट्रिय अम्पायर दीपक थापाले जानकारी गराए ।
विजेता टिमका वरियता प्राप्त खेलाडीले ७५ हजार, उपविजेता टिमका खेलाडीले ६० हजार, तेश्रोले ५५ हजार र चौथोले ४७ हजार ५ सय प्राप्त गर्ने छन् । यस्तै टिम च्याम्पियनलाई रनिङ्ग ट्रफी प्रदान गरिनेछ भने पहिलो, दोश्रो, तेश्रो हुने खेलाडीहरुले मेडल तथा गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।
‘लैङ्गिक समानतालाई ध्यानमा राख्दै पुरुष तथा महिला खेलाडीहरुलाई समान पुरस्कारको ब्यवस्था गरेका छौं’, महासचिव थापाले जानकारी गराए । खेलकुदको विकास गर्ने क्रममा विगतमा कर्पोरेट हाउसले गरेको योगदानको सम्झना गर्दै यस प्रकारको कार्यक्रमले खेलाडीहरुको हौसला वृद्धि गर्न मद्धत पुग्ने र खेलको विकासमा योगदान पुग्ने कार्यक्रममा सहभागी वक्ताहरुले बताए ।
टिम च्याम्पियनसिपमा पुरुष एकल (वरियता प्राप्त शिर्ष ८ खेलाडीहरुबिच), महिला एकल(वरियता प्राप्त शिर्ष ८ खेलाडीहरुबीच), कर्पोरेट युगल (कर्पोरेट हाउसमा कम्तिमा २ बर्ष कार्यरत व्यक्ति अथवा खेलाडीहरु), पुरुष युगल (शिर्ष खेलाडी र कर्पोरेट ब्यक्ति अथवा खेलाडी), महिला युगल (शिर्ष खेलाडी र कर्पोरेट ब्यक्ति अथवा खेलाडी) पाँच ईभेन्ट्समा प्रतिस्पर्धा हुने छ । जसमा पाँच मध्ये ३ ईभेन्ट्स जित्ने टिमले खेल जित्ने छ ।