काठमाडौं, कात्तिक २९ । चौँथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधी सोलुखुम्बुका सुमन कुलङ राईले जितेका छन् । उपाधीसंगै उनले नगद ५० हजार जितेका छन् । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको ४ हजार २ सय मिटर उचाईको पाँचपोखरीमा सम्पन्न प्रतियोगितामा कुलुङले निर्धारित दुरी १ घण्टा ५५ मिनेट ५२ सेकेण्डमा पूरा गर्दै पहिलो भएका हुन् ।
दोश्रो र तेश्रो स्थानमा आर्मीका गोपाल तामाङ र श्रीकास राईले क्रमशः२ घण्टा २९ सेकेण्ड र २ घण्टा १ मिनेट ४० सेकेण्डमा दौड पूरा गर्दै नगद ३० हजार र २० हजार हात पारेका छन् । चौथो र पाँचौँ स्थान अर्जुन कुलुङ र तीर्थ तामाङले जितेका छन् ।
महिलातर्फ धादिङका रसिला तामाङ पहिलो भएकी छन् । उनले २ घण्टा ४४ मिनेट ४३ सेकेण्डमा दौड पूरा गरिन् । उपाधिसँगै उनले नगद ५० हजार पाएकी छन् । सिन्धुपाल्चोकका नितु तामाङले निर्धारित दुरी २ घण्टा ४६ मिनेट २५ सेकेण्डमा दौड पूरा गर्दै दोश्रो स्थान प्राप्त गरिन् । तेस्रो, चौँथो र पाँचौ स्थान क्रमशः प्युठानका संगिता बुढामगर, आश्मा बिश्वकर्मा र निर्मला राईले हात पारेका छन् ।
त्यस्तै, सिन्धुपाल्चोकका सहभागितर्फ पुरुषमा संच तामाङ र महिलामा नितु तामाङले पहिलो स्थान हात पारेका छन् भने भेट्रान पुरुषतर्फ गोर्खाका भिम बहादुर गुरुङ र महिलामा राधा श्रेष्ठ पहिलो भएका छन । प्रतियोगितामा सहभागि खेलाडीको हौसला बढाउन यसियाली म्याराथनका स्वर्ण विजेता बैकुण्ठ मानन्धरले पनि दौडमा सहभागिता जनाएका थिए ।
जिल्लाको थाङ्पाल गाउँपालीकाको रैथानेश्वरीदेखि सुरु २१ किलोमिटरको म्याराथन ४ हजार २ सय मिटर उचाइको पाँचपोखरीबाट सुरु भएको थियो । पर्यटन प्रवद्र्धनका लागि खेलकुद भन्ने मूल नाराका साथ स्वस्थ्य रहन खेलकुद र खेलकुदका माध्यमबाट पाँचपोखरीको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बागमती प्रदेश खेलकुद परिषद सदस्य सचिब सूर्यलाल भन्डारीले बताए ।
पुरुष तथा महिला म्याराथन विजेताहरुले क्रमशः ५० हजार, ३० हजार, २० हजार, १० हजारका साथै नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए । जिल्लाकै गौरब बोकेको पर्यटकीय स्थल पाँचपोखरीलाई खेलकुदमार्फत जोडेर पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ म्याराथन आयोजना गरिएको गाउँपालिका अध्यक्ष टासि लामाले बताए । म्याराथनलाई आगामी वर्षहरुमा थप स्तरवृद्धि गर्दै अन्तर्राष्ट्यिस्तरको आयोजना गर्ने खेलकुल परिषदले जनाएको छ ।