काठमाडौं, मंसिर २३ । त्रिपुरासुन्दरीका अभिषेक गुरुङ्गले तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिताको जिल्ला स्तरिय पुरुष एकलको उपाधी जित्न सफल भएका छन् । तोप–२१ को आयोजनामा भएको प्रतियोगिताको आज सम्पन्न फाईनलमा अभिषेकले चौताराका सुरेन्द्र श्रेष्ठलाई २१–१९, २१–१५ ले पराजित गर्दै उपाधि उचालेका हुन् ।
अभिषेकले जितका साथै ट्रफी, मेडल, प्रमाण पत्र र नगद ३० हजार प्राप्त गर्ने छन् भने उपविजेता सुरेन्द्रले नगद २० हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । आजै सम्पन्न सेमिफाईनलमा अभिषेकले बलेफीका अजय तामाङ्ग माथि रिटायर्ड हर्टको आदारमा जित निकाल्दै फाईनल यात्रा तय गरेका थिए । पहिलो सेट २१–१७ ले पछाडी परेका अजय दोश्रो सेटमा ११–७ को अवस्थामा रहँदा घाईते हुन पुगे पछि खेल छोडेका थिए । यस्तै अर्को सेमिफाईनलमा चौताराका सुरेन्द्र श्रेष्ठले चौताराकै रमेश श्रेष्ठ माथि २१–१६, ११–२१, २१–१४ को जित निकाल्दै फाईनल यात्रा तय गरेका थिए । तेश्रो स्थान प्राप्त गरेका चौताराका रमेश श्रेष्ठ र बलेफीका अजय तामाङ्गले जनही नगद ५ हजार प्राप्त गर्नेछन् ।
यस्तै पुरुष युगल तर्फ चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडी तथा त्रिपुरासुन्दरीका अभिषेक गुरुङ्ग र युवराज अधिकारीको जोडी फाईनल प्रवेश गरेका छन् । प्रकाश र रमेशको जोडीले बलेफीका अजय तामाङ्ग र राजकुमार तामाङ्गको जोडीलाई २०–२२, २१–१०, २१–७ ले तथा अभिषेक र युवराजको जोडीले चौतारका सुन्दर श्रेष्ठ र कैलाश घलेको जोडीलाई २०–२२, २१–११, २१–११ ले पराजित गर्दै उपाधी निकट पुगेका हुन् ।
प्रतियोगितामा राष्ट्रियस्तरका पुरुष एकलमा विजयी खेलाडीहरुका लागि सर्वाधिक पुरस्कार राशी १ लाख ११ हजार १ सय ११ र प्रतियोगितामा उपबिजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै सेमिफाईनलिष्ट (तृतीय स्थान)का दुईले जनही १० हजार प्राप्त गर्नेछन् । यस्तै जिल्लास्तरीय पुरुष एकलका बिजेताले नगद ३० हजार, उपबिजेताले नगद २० हजार र सेमिफाईनलिस्ट दुईले जनही ५ हजार प्राप्त गर्ने छन् । युगलतर्फ बिजेता जोडीले ४० हजार, उपबिजेता जोडीले ३० हजार र सेमिफाईनलिस्ट दुई जोडीले ५/५ हजार प्राप्त गर्ने छन् ।