काठमाडौं, फागुन २५ । बीर गणेशमान सिंह १० किलोमिटर रोड रेसको महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ गोपीचन्द्र पार्की बिजयी भएका छन । रुड्स फेसनले आयोजना गरेको दौडमा १३औँ सागका स्वर्ण पदकधारी गोयल डिजरबाट प्रतिनिधित्व गरेकी सन्तोषीले ३९ मिनेट १०.९८ सेकेन्डमा निर्धारित दुरी पार गर्दै प्रथम स्थान हासिल गरिन भने पुरुषतर्फ नेपाल एपीएफ क्लब गोपीचन्द्र पार्कीले ३२ मिनेट ०१.२ सेकेन्डमा उपाधि रक्षा गरेका हुन् ।
साग स्वर्णधारी पार्कीले दुई सय ५६ धावकलाई पछि पार्दा सोही क्लबका खिम खत्री दोश्रो भए । खत्रीले ३४ मिनेट ३५.० सेकेन्डमा र तेश्रो स्थान कर्णाली स्पोर्टस क्लबका नरेश बुढा ३४ मिटर ३६.१ सेकेन्डमा दुरी तय गर्दै कब्जा गरे । महिलातर्फ दोश्रो र तेश्रो स्थान नेपाल प्रहरीका धाविकाद्वय बिन्द्रा श्रेष्ठ ४० मिटर ११.२९ सेकेन्ड र फुलमति राना ४० मिटर ५८.११ सेकेन्डमा दुरी पार गर्दै बिजयी भए ।
दरबारमार्गबाट शुरू भएको सो दौडमा विभागीय टिम, विभिन्न संघ संस्था र अमेरिका, बेल्जियम, जर्मनी र कोरियाका करिब ४५ महिला र दुई सय ५७ पुरुषसहित तीन सय दुई धावकहरुको सहभागीता थियो ।
बिजेता खेलाडीहरुलाई पदक, ट्रफि, प्रमाणपत्रको साथै पहिलो हुनेले ६०–६० हजार, दोश्रो हुनेले ३० हजार, तेश्रोले १५ हजार रुपैयाँ पाएका थिए । पाँचौं स्थानसम्मकालाई नगद पुरस्कार र दशौँ स्थानसम्मकालाई खेल सामग्रीहरु प्रदान गरिनुको साथै सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रमुख अतिथि नेपाली कांंग्रेसका नेता एवं सांसद प्रकासमान सिंह, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष सुनिल श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, रुड्स फेसन प्रालिका प्रबन्ध निर्देशक सन्जीव तुलाधरलगायतले खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।