काठमाडौं, फागुन १५ । रन क्लब नेपाल र मदन भण्डारी स्पोर्टस् एकेडेमीको संयुक्त आयोजनामा ‘दोश्रो मदन भण्डारी स्मृती ठमेल रोड रेश च्याम्पियनसिप २०२०’ अर्को हप्ता हुने भएको छ । आज आयोजित पत्रकार सम्मेलनका अनुसार फागुन २४ गते शनिबार हुने रोड रेश नेपाल भ्रमण वर्षमा पर्यटकलाई आकर्षण गर्ने उद्धेश्यका साथ गर्न लागिएको हो ।
करिब १५ सय स्वदेशी खेलाडीहरुको सहभागिता रहने उक्त रेशमा म्याराथनमार्फत नेपालका पहिलो पदक दिलाउन सफल अन्तर्राष्ट्रिय धावक जितबहादुर के.सी. र दक्षिण एशियाली खेलकुदमा म्याराथनमा तीन स्वर्णसहित किर्तिमान कायम राख्न सफल ओलम्पियन बैकुण्ठ मानन्धरको समेत सहभागिता रहने आयोजक संस्था रन क्लब नेपालका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी गराए । लैनचौरस्थित फुटबल मैदानबाट बिहान ७ बजे सुरु हुने रेशमा महिला÷पुरुष खुला ५ कि.मि., स्कुलस्तरिय ५ कि.मि., भेट्रान्स ५ मि.मि. दौड समावेश गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद, नेपाल एथलेटिक्स संघ र काठमाडौं जिल्ला खेलकुद विकास समितिको मान्यता प्राप्त रेशमा एथलेटिक्स संघको प्राविधिक सहयोग हुने संघका अध्यक्ष राजीव शाहले जानकारी गराए । रेशमा खुलातर्फ शिर्ष तीन स्थान हात पार्ने खेलाडीहरुलाई नगद २५ हजार, १२ हजार र आठ हजारका साथै प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै, स्कुलस्तरको रेशका बिजयी शिर्ष तीनले नगद १५ हजार, आठ हजार र पाँच हजार तथा भेट्रान्सतर्फका खेलाडीहरुले नगद १०, ५ र ३ हजार सहित प्रमाणपत्र प्राप्त गर्ने छन् ।
रेश लैनचौर फुटबल मैदानबाट सुरु भई दुग्ध डेरी, लैनचौर ब्याङ्गक्वेट, राजदरबार उत्तरढोका, नागपोखरी, जय नेपाल, नारायणहिटी संग्राहालय, महेन्द्र शालिक, रत्नपार्क, दरबार हाईस्कुल, कान्तिपथ, केशरमहल, संचयकोष भवन, नरसिंह चोक, भगवती मन्दिर, ठमेलचोक, अस्कल क्याम्पस हुँदै फुटबल मैदानमा पुगेर समापन हुने छ ।