काठमाडाैं, २० जेठ – नेपाल पारा तेक्वान्दोका खेलाडीलाई मेन्टर कन्सलटेन्सीले २ वर्षको लागि प्रायोजन गर्ने सम्झौता गरेको छ। सम्झौता पत्रमा नेपाल तेक्वान्दो संघको पारा तेक्वान्दो कमिटीका संयोजक कसिन मिया र मेन्टर कन्सलटेन्सीका प्रवन्ध निर्देशक हेमन्त भट्टराईले आइतबार अायोजित एक कार्यक्रममा हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार कन्लटेन्सीले तेक्वान्दोका लागि आवश्यक सम्पुर्ण सामानका साथै अावश्यक खानेकुरा पनि उपलब्ध गराउनेछ। सन् २०२० मा जापानमा हुने टोकियो ओलम्पिकमा पनि पारा तेक्वान्दो खेलाडीलाई सहयोग गर्ने जानकारी दिएको छ।
सम्झौतापछि नेपाल तेक्वान्दो संघका अध्यक्ष राणाले सबल खेलाडीलाई मात्रै प्रयोजन हुँदै आएको अवस्थामा पारा खेलाडीहरुलाई प्रायोजन गरेर मेन्टर कन्सलटेन्सीले नेपाली खेलकुदमा सराहनीय कार्य गरेको बताउदै आगमी दिनहरुमा पनि यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरेका छन्।
पारा तेक्वान्दो खेलाडीलाई प्रायोजन गर्न पाउनु खुशीमय कुरा भएको र सानो सहयोगले खेलाडीहरुमा अझै राम्रो प्रदर्शन गर्न र देशका नाम उच्च पार्न हौसला मिल्न सक्ने प्रवन्ध निर्देशक भट्टराईले बताए। सोही अवसरमा नेपाल तेक्वान्दो संघ अन्र्तगतको पारा तेक्वान्दो कमिटिले पदक विजेता पारा तेक्वान्दोका तीन खेलाडीहरुलाई जनही १० हजारसहित सम्मानित गरेको छ।
सम्मानित हुने खेलाडीहरुमा भियतनाममा यसैवर्ष सम्पन्न एसिया पारा तेक्वान्दो च्याम्पियनसिपका कास्यपदक विजेता पलेसा गोबर्धन, सन् २०१६ को दोस्रो एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा रजतपदक, सन् २०१७ को सातौ विश्व पारा तेक्वान्दोच्याम्पियनसिपमा कास्य र तेस्रो एसियन पारा तेक्वान्दो च्याम्पियनसिपका कास्यपदक विजेता रञ्जना धामी र पहिलो आइडब्लूएएसमा कास्यपदक र पाँचौं युरोपियन ओपन पारा तेक्वान्दो च्यम्पियनसिपमा कास्य पदक विजेता सीता भण्डारी रहेका छन्।
सन् २०१४ मा कोरियामा भएको पहिलो एसिया पारा तेक्वान्दो च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको नेपाल पारा तेक्वान्दो टिमले ११ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउदै २ रजत र १० कास्यसहित १२ पदक जित्न सफल भैसकेको छ।