काठमाडौं, पुस ५ । १३औँ काठमाण्डौ म्याराथनको उपाधि पुरुषतर्फ सेनाका नरेन्द्र सिंह रावत र महिलातर्फ एपिएफकी कान्छिमाया कोजुले हात पारेका छन् । यो जितसँगै उनीहरुले मेडल, प्रमाण पत्र र ट्रफीका साथै नगद ५० हजार प्राप्त गरे ।
म्याराथनमा नयाँ नाम लेखाउँदै नरेन्द्रले ४२.१९५ कि.मि.को दुरी २ घन्टा ३३ मिनट १० सेकेन्डमा पूरा गर्दै उपाधि उचालेका हुन् । उनले सेनाकै बेदबहादुर सुनुवारलाई पछि पार्दै जित निकालेका हुन् । बेदबहादुरले २ घन्टा ३४ मिनट २० सेकेन्डमा दुरी पूरा गरे । तेश्रो स्थानमा रहेका सेनाकै ज्ञानप्रसाद भट्टराईले २ घन्टा ३४ मिनट ४५ सेकेन्डमा दुरी पूरा गरे ।
महिलातर्फ कोजुले २ घन्टा ५७ मिनट २७ सेकेन्डमा दुरी पार गरिन् । कोजुको यो लगातार तेश्रो उपाधि हो । दोश्रो स्थानमा रहेकी सेनाकी सरिता बासीले ३ घन्टा १९ मिनट ०७ सेकेन्ड र तेश्रो स्थानमा रहेकी निर्जला ताम्राकारले ३ मिनट ४७ मिनट ४५ सेकेन्डमा दुरी पूरा गरे । बिजयी शिर्ष तीन खेलाडीहरुले मेडल, प्रमाण पत्रका साथै क्रमशः नगद ५० हजार, २० हजार र १५ हजार रुपैयाँ प्राप्त गरे ।
त्यस्तै, प्रो स्पोर्टस्को आयोजनामा भएको प्रतियोगिताको हाफ म्यारथनमा पुरुषतर्फ सेनाका राजन रोकायाले १ घन्टा १० मिनट २६ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारे । दोश्रो स्थानमा हरी रिमालले १ घन्टा ११ मिनट १३ सेकेन्डमा र तेश्रो स्थानमा रहेका सेनाकै रामजी बस्नेतले १ घन्टा ११ मिनट २१ सेकेन्डमा दुरी पूरा गरे ।
महिलातर्फको हाफ म्याराथन सेनाकी पूर्ण लक्ष्मी न्यौपानेले जितिन् । उनले निर्धारित दुरी पूरा गर्न १ घन्टा २८ मिनट ०३ सेकेन्ड लगाइन् । सेनाकै सानु माया कार्कीले १ घन्टा ३० मिनट ०१ सेकेन्डका साथ दोश्रो र पुलिसकी रेखा बिष्टले १ घन्टा ३१ मिनट ३४ सेकेन्डका साथ तेश्रो स्थान प्राप्त गरे । बिजयी शिर्ष तीन खेलाडीहरुले क्रमशः २० हजार, १३ हजार र ७ हजार रुपैयाँसहित मेडल, प्रमाण पत्र प्राप्त गरे ।
त्यसैगरी, पाँच किलो मिटर खुलातर्फ पुरुषमा एपिएफका अजितकुमार यादवले निर्धारित दुरी १७ मिनट १९.७१ सेकेन्डमा पूरा गर्दै जित हात पारे । सेनाका गजेन्द्र राईले उक्त दुरी १७ मिनट ३०.६३ सेकेन्डमा पूरा गर्दै दोश्रो र शिब रायले १७ मिनट ५३.२२ सेकेन्डमा पूरा गर्दै तेश्रो भए । महिलातर्फ सेनाकी सरस्वती भट्टराईले बाजी मारिन् । उनले निर्धारित दुरी २२ मिनिट ०३.४१ सेकेन्डमा पूरा गरिन् । यस्तै दोश्रो स्थानमा रहेकी पुलिसकी बिर्सना कुमालले २३ मिनट ०९.३० सेकेन्ड र तेश्रो स्थानमा रहेकी पुलिसकै काजल बिष्टले २३ मिनट ३१.१० सेकेन्डमा पूरा गरे । बिजयी शिर्ष तीन खेलाडीहरुले क्रमशः १० हजार ६ हजार र ४ हजार रुपैयाँसहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।
पाँच किलोमिटर मास्टरमा धर्म महर्जनले स्वर्ण हात पार्दा भिमबहादुर गुरुङ्गले रजत र कपिल भट्टराईले कास्य पाए । महिलातर्फ अनु चित्रकारले स्वर्ण पाईन् । बिजयी खेलाडीहरुले क्रमशः १० हजार ६ हजार र ४ हजार रुपैयाँ सहित मेडल तथा प्रमाण पत्र प्राप्त गरे ।
पाँच किलोमिटर छात्रतर्फ गोल्डेन फ्युचर सेकेन्डरी स्कुलका समिर रसाईलीले स्वर्ण, नेपालय एजुकेसन फाउन्डेशनका अमृत बोटले रजत र एभरेष्ट बोर्डिङ्गका नारायनकुमार कसवाले कास्य पाए । छात्रातर्फ विजेशवरी ज्ञान मन्दिरका खेलाडीहरुले तीनै स्थान कब्जा गरे । सुलोचना बलामीले स्वर्ण, रचना रानामगरले रजत र सुनिता श्रेष्ठले कास्य पाए । उनीहरुले क्रमशः पाँच हजार तीन हजार र दुई हजार रुपैयाँ प्राप्त गरे ।
ह्विल चेयरको तीन कि.मि. दौडमा पुरुषतर्फ कृष्ण राज चौधरी प्रथम, सन्देश चौधरी द्वितीय र नरबहादुर दाहाल तृतिय भए । यस्तै महिलातर्फ यामी झाक्री प्रथम, सर्मिला थोकर द्वितीय र ज्योती अर्याल तृतिय भए । उनीहरुले क्रमशः नगद पाँच हजार, तीन हजार र दुई हजारका साथै मेडल, प्रमाण पत्र प्राप्त गरे ।
यस्तै फेमिली रन तर्फ ३ कि.मि.को दौडमा पहिलो स्थानमा अवस्ती कार्की, भगवान कार्की र अप्सरा महतले पहिलो स्थान प्राप्त गरे । दोश्रो स्थानमा प्राप्ती आचार्य र चादनी कार्की तथा तेश्रो स्थानमा लेगिना घिमिरे र सुश्मिता तिमल्सिनाले हात पारे ।
बिजयी खेलाडीहरुलाई प्रदेश नं.३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव शिवकुमार वाग्ले, पूर्व सशस्त्र प्रहरीबलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, ओलम्पियन बैकुण्ठ मानन्धर, क्याथी ड्रागनका अभित श्रेष्ठ, डाईनिङ्ग पार्कका आभाष पाण्डेलगायतले पुरस्कार वितरण गरेका थिए ।