काठमाडौं, पुस ४ । शनिबार हुने १३औं काठमाडौं म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ । प्रो स्पोर्टस्को आयोजनामा हुन् सो को जानकारी बिहिबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको थियो ।
काठमाडौं उपत्यकालाई म्याराथनमार्फत विश्वमा चर्चित बनाउने र खेल पर्यटनबाट आर्थिक समृद्धिमा सहयोग पुर्याउने उद्देश्यले सुरुवात गरिएको काठमाण्डौ म्याराथन १३औं संस्करणसम्म आइपुगेको छ । डिसेम्बर महिना पर्यटनका हिसाबले अफ सिजनको रुपमा लिइन्छ । अफ सिजनमा पनि नेपालमा पर्यटक भित्र्याउने तथा सन् २०२० लाई नेपाल सरकारले भ्रमण बर्षको रुपमा मनाउने तयारी गरिरहेको अवस्थामा त्यसलाई पनि टेवा पुग्ने उद्देश्यले यस बर्ष डिसेम्बर महिनामा म्याराथन आयोजना गर्न लागिएको आयोजक संस्थाकी कार्यकारी निर्देशक बाग्मती राईले जानकारी गराइन् ।
१२औं संस्करणसम्म सफलतापूर्वक सम्पन्न गर्दै गर्दा कुनै पनि सरकारी निकाय र उपत्यकाका स्थानीय सरकारले अपनत्व नदिएकोमा यस बर्ष प्रदेश नं.३ सरकारले यसको जिम्मेवारीका साथ अपनत्व ग्रहण गरेको र काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका तथा ठिमी र भक्तपुर नगरपालिकाले त्यसमा चासो दिंदै आफ्नो तर्फबाट सक्दो सहयोग पुर्याउने प्रतिवद्धता लिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
म्याराथन प्रतियोगिताका दौरान महिला तथा पुरुष म्याराथन तथा हाफ म्यारथन, कर्पोरेट रिले, ५ कि.मि. खुला दौड, ५ कि.मि. छात्र तथा छात्रा दोड र ३ कि.मि. ह्विलचियर दौड रहेको छ । यस पटक पहिलो पटक युवाहरुलाई लक्षित गर्दै फेमिली रन पनि समावेश गरिएको छ । नेपालमै पहिलो पटक टाईम चिप्सलाई प्रयोग गर्न लागिएको आयोजकले जनाएका छन् । सम्बृद्ध नेपालको उच्च नारा लिएर हिडेको सरकारले यस म्याराथनलाई प्रदेश ३ सरकारले अपनत्वप ग्रहण गरेको म्याराथनका माध्यमले नेपाललाई विश्व मञ्चमा पहिचान गराउँदै खेल पर्यटनमार्फत आर्थिक समृद्धिमा समेत टेवा पुर्याउन सहज हुने प्रदेश ३ का पर्यटन मन्त्री अरुण नेपालले बताए ।
विश्वका विभिन्न चर्चित र सफल म्याराथन जस्तै यस म्याराथनमा पनि अधिकभन्दा अधिक बिदेशी खेलाडीहरुलाई सहभागी गराउँदै सोहि स्तरमा पुर्याउने उद्धेश्यले विभिन्न देशमा प्रचार प्रसार गरिएको जनाइएको छ । म्याराथन, हाफ म्याराथन तथा ५ कि.मि. दौडका लागि पाँच हजार खेलाडीहरु अपेक्षा गरिएको र हाल सम्म ५० विदेशी खेलाडीहरुले नाम दर्ता गरिसकेका छन् । त्यस्तै, म्याराथनलाई प्रदेश ३ सरकार र काठमाण्डौ महानगरपालिकाले पाँच/पाँच लाख तथा भक्तपुर नगरपालिकाले एक लाख सहयोग गर्ने जनाइएको छ ।