काठमाडौं, मंसिर २० । नेपालका गोपिचन्द्र पार्कीले १३औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष पाँच हजार मिटर दौडमा स्वर्ण जितेका छन् । एथलेटिक्सको चौथो दिन शुक्रबार भएको आठ स्पर्धाको फाइनलमा नेपालले जितेको त्यो नै एक मात्र स्वर्ण रह्यो भने सोही स्पर्धामा नेपालकै हरिकुमार रिमालले कास्य पदक जिते ।
श्रीलंकाले महिला र पुरुष ४ गुणा सय रिले तथा महिला पाँच हजार मिटर गरी तीन स्वर्ण जित्दा पाकिस्तान र भारतले समान दुई स्वर्ण जिते । पाँच हजार मिटर पुरुषमा स्वर्ण जित्ने क्रममा गोपीले निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेण्डमा पूरा गरे । रजत विजेता भारतका सुनिलदबार र कास्य विजेता नेपालका हरीले निर्धारित दूरी पूरा गर्न क्रमश १४ मिनेट ५५.२१ र १४ मिनेट ५८.५७ सेकेण्ड खर्चिए ।
त्यस्तै, महिला पाँच हजार मिटरमा श्रीलंकाकी उडा कुबुरालेजले निर्धारित दूरी १६ मिनेट ५५.१८ सकेण्डमा पूरा गर्दै स्वर्ण जित्दा भारतकी पारुल चौधरी र प्रिती लाम्बाले निर्धारित दुरी क्रमश १६ मिनेट ५७.४९ सेकेण्ड र १७ मिनेट ९.३२ सेकेण्डमा पूरा गर्दैै रजत र कास्य पदक जिते । १० हजार मिटरमा नेपाललाई स्वर्ण दिलाएकी सन्तोषी श्रेष्ठले पाँच् हजार मिटरमा भने चौथौँ स्थानमा चित्त बुझाइन् । सन्तोषीले निर्धारित दूरी पूरा गर्न १७ मिनेट १३.६८ सकेण्ड खर्चिइन् । सोही विधामा नेपालकी विश्वरुपा बुढा मगरले भने अस्वस्थताका कारण सहभागी हुन सकिनन् ।
महिला चार सय मिटर हर्डल्समा पाकिस्तानकी नजमा प्रभिनले स्वर्ण जित्दा श्रीलंकाकी कौसल्या मधुले रजत र भारतकी वीरपलकौरले कास्य जितिन् । नजमाले निर्धारित दूरी १ मिनेट ३५ मिलि सेकेण्डमा पूरा गर्दा मधु र कौरले क्रमश १ मिनेट ४० मिलि सेकेण्ड र १ मिनेट १.३८ सेकेण्डमा दौड पूरा गरे । नेपालकी कल्पाना श्रेष्ठले १ मिनेट ११.९८ सेकेण्डमा पूरा गर्दै छैटांै स्थानमा रहिन् ।
पुरुष चार सय मिटर हर्डल्समा पाकिस्तानका मेहबुब अलीले निर्धारित दूरी ५०.७१ मिलि सेकेण्डमा पूरा गर्दै स्वर्ण जिते । भारतका जाबिर मार्दी र सन्तोष कुमारले क्रमशः रजत र कास्य जिते । जाबिरले ५१.४२ मिलि सेकेण्डमा दौड पूरा गर्दा सन्तोषले ५१.९८ मिलि सेकेण्ड खर्चिए । नेपालका रामप्रसाद थारुले ५४.९५ मिलि सेकेण्ड र निर प्रतापले ५५.७१ मिलिसेकेण्ड खर्चदै क्रमशः छैठौँ र सातौँ स्थानमा रहे ।
यता महिला र पुरुष सटपुट दुबै विधाको स्वर्ण भारतको नाममा रह्यो । महिलातर्फ भारतकी आभा खातुवाले १५.३२ मिटर थ्रोका साथ स्वर्ण जित्दा श्रीलंकाकी थारिका कुमुदुमले १४.३५ मिटर थ्रोका साथ रजत र भारतकी कचनार चौधरीले १३.६६ मिटर थ्रोका साथ कास्य जितिन् । नेपालकी चन्द्रकला थापाले आफ्नै नाममा रहेको १२.४ मिटरमा सुधार गर्दै १२.५२ मिटर थ्रोको नयाँ राष्ट्रिय कीर्तिमान रचिन् ।
सटपुट पुरुषतर्फ भारतका तेजेन्दर पलले २०.०३ मिटर थ्रोका साथ स्वर्ण जित्दा भारतकै ओमप्रकाश सिंहले १७.३१ मिटर थ्रोका साथ रजत श्रीलंकाका स्मिथ मधुशंखले १५.५५ मिटर थ्रोका साथ कास्य जिते । नेपालका टंकप्रसाद र चित्रबहादुरले क्रमश १३.०९ र १२.३२ मिटर थ्रो गरे ।
पुरुष चार गुणा सयमा श्रीलंकाको हिमासाइसान, विनोज सुरञ्जन, चानुका सन्दिप र युपुनप्रियादर्शनको टोलीले निर्धारित दूरी ३९.१४ मिलिसेकेण्डमा पूरा गर्दै स्वर्ण जित्दा भारतका हारजित सिंह, प्रणव कालापुर अमियाकुमार मल र गरविन्दर सिंहको टोलीले निर्धारित दूरी ३९.९७ मिलिसेकेण्डमा पूरा गर्दै रजत र पाकिस्तानका समीउल्लाह, उजिर रहमान, मोहम्मद साहबा र मोहम्मदनाइमको टोलीले निर्धारित दूरी ४०.७६ मिलिसेकेण्डमा पूरा गर्दै कास्य जित्यो । सो विधामा नेपालका आशिष चौधरी, आनन्द देव चौधरी, जीवन चौधरी र यम साजन सुनारको टोलीले निर्धारित दूरी ४२.७२ मिलिसेकेण्डमा पूरा गरे ।
महिला चार गुणा सयमा श्रीलंकाकी लंक्षिणा सारंग, सन्दिपा हिरान्या, लक्षिणा सौगन्ध र तानुजी अमासाको टोलीले निर्धारित दूरी ४४.८९ मिलिसेकेण्डमा पूरा गर्दै स्वर्ण जित्दा भारतकी हिमाश्री रोय, अर्चना सुसनित, चन्द्रलेखान र धनेश्वरी आसोको टोलीले निर्धारित दूरी ३५.३६ मिलिसेकेण्डमा पूरा गर्दै रजत र पाकिस्तानको साइबअर्सा, एनिलागुल्जार, नज्माप्रविन र इसा इमरानको टोलीले निर्धारित दूरी ४७.७४ मिलिसेकेण्डमा पूरा गर्दै कास्य जित्यो ।