काठमाडौं, मंसिर १८ । १३औँ दक्षिण एसियाली खेलकुद(साग) अन्तरगत एथलेटिक्सको दोस्रो दिन पनि भारतको दबदबा कायम छ । दोस्रो दिन सात स्वर्णका लागि भएको प्रतिस्पर्धामा भारतले पाँच स्वर्ण जित्यो । पाकिस्तान र श्रीलंकाको नाममा समान एक स्वर्ण रह्यो ।
भरतले लङजम्प पुरुषतर्फ, १० हजार मिटर दौड पुरुषतर्फ, महिला दुई सय मिटर र महिला र पुरुष डिस्कस थ्रोमा स्वर्ण जितेको हो । पुरुष १० हजार मिटर दौडमा भारतका सुरेश कमारले निर्धारित दुरी २९.३३.६१ सेकेण्डमा पूरा गरे । श्रीलंकाका सानमुगेश्वरनले निर्धारित दुरी ३०.४९.३० सेकेण्डमा पूरा गर्दै र नेपालका दिपक अधिकारीले निर्धारित दूरी ३०.४९.३० सेकेण्डमा पूरा गर्र्दै कास्य पदक जिते । यता महिला दुई सय मिटर दौडमा भारतकी अर्चना सुरिन्थले निर्धारित दूरी २३.६६ सकेण्डमा पूरा गर्दै स्वर्ण जित्दा मात्र ३ सकेण्डले पछि परेकी पाकिस्तानी खेलाडी नज्मा प्रबिनले रजत तथा भारतकै चन्द्रा लेखाएनले निर्धारित दूरी २४.२७ सेकेण्डमा पूरा गर्दै कास्य जितिन् । सो विधामा नेपालकी सरवती चौधरी र कृष्णा चौधरी हिट चरणबाटै बाहिरिएका थिए । सरस्वतीले निर्धारित दूरी २६.०४ सेकेण्ड र कृष्णाले निर्धारित दूरी २६.०४ सेकेण्डमा पूरा गरिन् । दुई सय मिटर दौड पुरुषतर्फ पाकिस्तानका उजिर रहमानले निर्धारित दूरी २१.१५ सेकेण्डमा पूरा गर्दै स्वर्ण जित्दा श्रीलंकाका भिनोज सुर्यानाले निर्धारित दूरी २१.१९ सेकेण्ड र माल्दिभ्सका साहिद हसनले निर्धारित दूरी २१.२२ सेकेण्डमा पूरा गर्दै कास्य पदक जिते ।
त्यस्तै, लङ जम्प पुरुषतर्फ भारतका लोकेश सत्यानाले ७.८७ मिटरको दूरीका साथ स्वर्ण पदक जित्दा भारतकै स्वामीनाथन यादबले ७.७७ मिटरको दूरीका साथ रजत र बंगलादेशका अलअमिनले ७.६० मिटरको दूरीका साथ कास्य जिते । सो बिधामा भुवन महतो र शेरबहादुर बिष्टले क्रमश ६.७६ मिटर र ६.८५ मिटर दूरी पार गरे ।
महिलालङ जम्पमा श्रीलंकाकी लक्क्षिनी सारंगले ६.३८ मिटरको दूरीका साथ स्वर्ण पदक जित्दा श्रीलंकाकै अन्जनी उथ्पालाले ६.११ मिटरको दुरीका साथ रजत र भारतकी सान्द्रा बाबुले ६.०२ मिटरको दूरीका साथ कास्य पदक जितिन् ।
यता डिस्कस थ्रो महिलामा नबजितकौरले ४९.८५ मिटर फ्याक्दै स्वर्ण जित्दा भारतकै सुरभी विश्वासले ४९.८५ मिटर फ्याक्दै ४७.३१ मिटर फ्याक्दै रजत श्रीलंंकाकी इशारा मधुरंगले ४१.२९ मिटर फ्याक्दै कास्य जितिन् । फाइनलमा स्थान बनाएकी नेपालकी अमृता महतोले ४०.१९ मिटर फ्याक्दै कास्य जितिन् ।
पुरुष डिस्कस थ्रो भारतका कृष्ण सिंहले स्वर्ण र गगनदिप सिंहले रजत जिते । पाकिस्तानका साम्स उलहकले कास्य जिते । कृष्ण सिंहले ५७.८१ मिटर फ्याक्दा गगन दिप सिंहले ५३.५७ मिटर र साम्सउलहकले ४४.३ मिटर फ्याके ।