काठमाडौं, मंसिर ७ । मित्र राष्ट्र मलेसियाको कुचिङ्ग, सारावकमा आयोजना हुने २१औं एशिया मास्टर्स एथलेटिक्स च्याम्पियनसिपमा सहभागि हुने नेपाली भेट्रान्स एथलेटहरुलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले बिदाई गरे । डिसेम्बर २ देखि ७ सम्म आयोजना हुने च्याम्पियनसिपिमा सहभागी हुन नेपाली टोली आगामी १३ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
नेपाल एम्योच्योर भेट्रान्स एथलिट कमिटिका अध्यक्ष जिएन दाई शर्माको नेतृत्वमा जाने ३१ सदस्यीय टोलीमा टिम व्यवस्थापकमा शिव सुन्दर राजबैद्य, संघका उपाध्यक्षद्वय एवं खेलाडी रुपाल शमशेर राणा र गिर्वाण विक्रम शाह, मञ्जु श्रेष्ठ, दिपेन्द्रकुमार गोईत, हेराकाजी महर्जन, राज काजी श्रेष्ठ, बाबु राजा श्रेष्ठ, सुनिलकुमार लालवनी, हेम रत्न बज्राचार्य, संघ रत्न शाक्य, गोपाल महर्जन, त्रिरत्तन मानन्धर, श्रवणकुमार श्रेष्ठ, शिबहरि खनाल र बिश्वरत्न मानन्धर रहेका छन् । यस्तै टोलीसंग १४ जना अभ्जवर्सहरु पनि त्यसतर्फ जाने कार्यक्रम रहेको छ ।
खेलाडीहरुलाई बिदाई र शुभकामना ब्यक्त गर्दै सदस्य सचिव सिलवालले स्वस्थ नागरिक उत्पादन र खेलाडीहरुको उर्जालाई कायम राख्ने क्रममा भेट्रान खेलाडीहरुले जुन कार्य गरेका छन् त्यो सम्मानयोग्य रहेको भन्दै युवा खेलाडीहरुलाई यस कार्यले अझ उत्साहित बनाउनेमा आफू बिश्वस्त रहेको बताए । भेट्रान्स टोलील यस अघिका प्रतियोगिताहरुमा पदकसहित निकैनै राम्रो नतिजा हासिल गर्न सफल भईसकेको छ ।