काठमाडौं, भाद्र २३ । सैनिक आवसीय माविका ईश्वर बस्नेत र विश्व निकेतनकी सरस्वती बोहरा उपत्यकाव्यापी सडक दौड प्रतियोगितामा आइतबार पहिलो भएका छन् । छात्रमा ईश्वर तथा छात्रामा सरस्वती पहिलो भएका हुन् ।
छात्रमा ५ किलोमिटर तथा छात्रामा ३ किलोमिटर दूरीमा प्रतिस्पर्धा भएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा आयोजित प्रतियोगितामा ईश्वरले निर्धारित दूरी १७ मिनेट ४४.१२ सेकेन्डमा पूरा गरे । जेसिस माविका सागर श्रेष्ठ (१८ मिनेट १४.८० सेकेन्ड) दोश्रो तथा मनोहर माविका सन्तोष नापित (१८ मिनेट ४२.७१ सेकेन्ड) तेश्रो भए । नेपालय एजुकेसनका युनिश आले मगर चौथो, सैनिकका नविन्द्र कार्की पाँचौं, आदर्श माविका उदय लिम्बू छैटौं र प्रवीण लिम्बू सातौं, सीतापाइलाका नितेश घर्ती मगर आठौं तथा सैनिकका प्रवीणराज अधिकारी नवौं र सुरेन्द्र परियारले दसौं स्थानमा दौड टुंगाए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तत्वावधानमा सञ्चालित प्रतियोगिताको छात्रामा सरस्वतीले निर्धारित दूरी १५ मिनेट ५० सेकेन्डमा तय गरिन् । कुशलता तामाङ (१६ मिनेट ०४ सेकेन्ड) दोश्रो तथा स्वेच्छा बलामी मगर (१६ मिनेट १६ सेकेन्ड) तेश्रो बने । दुबै विजेश्वर ज्ञान मन्दिरका हुन् । पञ्चकन्या माविकी सानु घतानी, जेसिसकी रेस्टिना सिटीखु, ज्ञानकुञ्ज माविकी श्रयस्का सिल्पकार, सैनिककी सुप्रिया भण्डारी, ज्ञानकुञ्जकी प्राकृति सुवाल तथा जेसिसका स्वागता खाइजु र उर्जा मधिकर्मी क्रमशः चौथोदेखि दशौं स्थानमा रहे । छात्र÷छात्रा दुबैमा शीर्ष चार स्थान हात पार्नेले क्रमशः १० हजार, सात हजार, पाँच हजार र चार हजार नगद पुरस्कार पाए । चौथोदेखि दशौं स्थानमा रहने सबैले तीन हजारका दरले नगद पुरस्कार हात पारे ।
विजेतालाई राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, सदस्य इन्दिरा निरौला र हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । त्यसअघि प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले उद्घाटन गरेका थिए । ४०औँ राष्ट्रिय शिक्षा दिवसका अवसरमा आयोजित प्रतियोगितामा पाँच सय ७२ प्रतिस्पर्धी सहभागी थिए । दौड त्रिपुरेश्वरस्थित राखेप हाताबाट सुरु भइ पुनः राखेप हातामै आएर टुंगिएको थियो ।