काठमाडौं, २९ जेठ – खेलकुदमा महिला सहभागिता व्यापक बनाउने र त्यसको माध्यमबाट महिला हिंसा न्यूनीकरण गर्न राष्ट्रिय खेलकुद परिषदले देशका ७७ वटै जिल्लामा विशेष अभियान चलाउने भएको छ।
राष्ट्रिय खेलकुद परिषदले राष्ट्रपति खेलकुदमा महिला सहभागिता अभिबृद्धि कार्यक्रम मार्फत अभियान सञ्चालन गर्न लागेको हो। यसका लागि परिषद्ले मंगलबार सरोकारवालाहरुसँग सुझाव संकलन गर्नका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।
बिजुलीबजारमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले खेलकुदमा महिला सहभागिता अभिबृद्धि अपरिहार्य रहेको भन्दै नेपालले पाएको अन्तर्राष्ट्रिय पदकमा महिलाहरुको पनि महत्वपूर्ण भूमिका रहेको बताएका छन्। उनले यथास्थितिवादी शासकहरुले महिलाको अधिकार कटौती गरी पछि पारेकैले नेपाली समाजको सर्बांगीण विकास हुन नसकेको बताए।
त्यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले राखेपकै आयोजनामा देशका सबै जिल्लाहरुमा खेलकुदमा महिला सहभागिता बढाउन अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए। राष्ट्रपति महिला अभिबृद्धि कार्यक्रममार्फत अभियानका लागि बजेट बिनियोजन भइसकेको जानकारी पनि सदस्य–सचिव विष्टले दिए।
राखेपले असारको दोश्रो सातादेखि खेलकुदमा महिला सहभागिताको विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको छ। ‘महिला सशक्तिकरणका लागि हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प’ भन्ने नारासहित सञ्चालन हुन लागेको अभियानमा महिलाहरुलाई आत्मरक्षाका लागि तालिम पनि प्रदान गरिनेछ।
अन्तक्र्रियामा सहभागी अन्य वक्ताहरुले महिला हिंसा न्यूनीकरणका लागि स्वतन्त्रता र बलियो कानूनी व्यवस्थाको अपरिहार्य रहेको धारणा राखे।
सञ्चारकर्मी तथा महिला हिंसाबारे विशेषज्ञ आरती चटौतले महिलाहरु घर भित्र र पुरुषहरु घर बाहिर भन्ने मान्यतालाई नतोडेसम्म महिलाहरुको खेलकुदमा सहभागितालाई व्यापक बनाउन नसकिने धारणा व्यक्त गरिन्।
सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले ऐन, नीति नियम र पाठ्यक्रममै महिला हिंसाबिरुद्धको जनचेतना अभिबृद्धि गर्नु पनेमा जोड दिइन् ।
कार्यक्रममा नेपाल कुरुदया मार्सल आर्ट संघका खेलाडीले पुरुषहरुले महिलामाथि गर्ने दुव्र्योहारको कसरी आत्मरक्षा गर्ने सम्बन्धी तरिका प्रदर्शन गरेका थिए।