काठमाडौं, असार २८ । यस वर्षको ‘१२औँ दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिता’ नेपालमा हुने भएको छ । आगामी साउन ३ र ४ गते(जुलाई १८ देखि २१) काठमाडौंको प्रज्ञा भवन, कमलादीमा हुने उक्त प्रतियोगिता नेपाल शारीरिक सुगठन तथा फिटनेस संघको तत्वावधानमा दक्षिण एशियाली शारिरीक सुगठन तथा फिटनेस महासंघले आयोजना गर्ने भएको हो ।
फिटनेस संघले विज्ञप्ति प्रकाशित गरी यस प्रतियोगिताको तयारीसमेत पूरा भइसकेको जानकारी गराएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई समेत सहयोगी सिद्ध हुने गरी यसको आयोजना हुने जनाइएको छ ।
हरेक वर्ष हुने यो प्रतियोगिता नेपालले तेस्रो पटक आयोजना गर्न लागेको हो । प्रतियोगिता भव्य रुपले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुन गैरहेको र सम्पूर्ण दक्षिण एशियाली मुलुकहरुबाट खेलाडी, निर्णायक र अफिसियल गरी एक सय ३० जनाको सहभागिता हुने निश्चत भैसकेको छ । प्रतियोगितामा विश्व तथा एशियाली शारीरिक सुगठन महासंघका अध्यक्षको पनि सहभागिता हुने जनाइएको छ । खेललाई निष्पक्ष रुपमा संचालन गर्न थाइल्याण्ड शारीरिक सुगठन संघबाट चार जना विश्वस्तरीय निर्णायकहरु समेत सहभागी हुनेछन् ।
नेपालबाट यस १२औँ दक्षिण एशियाली शारिरीक सुगठन प्रतियोगितामा शारीरिक सुगठन प्रतियोगिता, जुनियर शारीरिक सुगठन प्रतियोगिता एवं यस विधाअन्र्तगत पुरुष फिटनेस फिजिक्स, पुरुष एथलेटिक्स फिजिक्स, पुरुष स्पोर्टस् फिजिक्स, महिला एथलेटिक्स फिजिक्स तथा महिला मोडल फिजिक्स गरी जम्मा १८ विधामा २३ खेलाडीहरु र पाँच अफिसियल गरी २८ जनाको सहभागिता रहनेछ ।
यस खेलको लागि अनुमानित बजेट करिब एक करोड ३६ लाख रुपैयाँ रहेको जनाइएको छ । यसको मुख्य स्रोत विभिन्न व्यापारिक प्रतिष्ठान तथा संघ संस्थाहरुबाट प्रायोजन तथा खेलाडीहरुको रजिष्ट्रेशन शुल्क रहने छ भने नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयबाट वार्षिक बजेट तथा कार्यक्रममार्फत नै खेल शीर्षक अन्तर्गत १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै, विज्ञप्तिका अनुसार नेपाल पर्यटन बोर्डलाई २०२० को बारे समेत यस प्रतियोगितमार्फत प्रकाश पार्ने महत्वपूर्ण समय दिईनेछ । २०३५ सालमा स्थापना भएको नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ राष्ट्रिय खेलकुद परिषदको एक अभिन्न अंग मानिन्छ । हाल ३६ जिल्लाका जिल्ला संघहरु मार्फत नेपालमा शारीरिक सुगठन खेलको विकासमा यस संघ क्रियाशिल रहेको छ । शारीरिक सुगठन खेलमार्फत यस संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत उल्लेख्य सफलता हासिल गरी देशको शिर उच्च पार्न सफल रहेको छ ।
दक्षिण एशियाली, एशियाली तथा विश्वस्तरीय प्रतियोगिताहरुमा निरन्तर रुपमा सहभागी भई स्वर्ण, रजत र कास्य पदक हासिल गरी आएको छ भने राष्ट्रिय, जिल्ला र प्रदेश तथा क्षेत्रीयस्तरका खेलहरु निरन्तर रुपमा आयोजना गरी यस खेलको विकासमा सहयोग पुर्याउदै आएको छ ।
साथै, निकट भविष्यमा यस संघले एशियाली शारीरिक सुगठन प्रतियोगिता समेत आयोजना गर्ने लक्ष्य लिएको र जसमा ४० भन्दा बढी मुलुकका करिब चार सय ५० जनाको सहभागिता रहने अनुमान गरिएको जनाइएको छ ।